२०८३ साउन ९ शनिबार

अमेरिका-इरान द्वन्दको असरले नेपालमा इन्धन अभाव हुँदैनः आयल निगम

ई आर्थिक    बिहिबार, पौस २४ २०७६
7.2K
Shares
अमेरिका-इरान द्वन्दको असरले नेपालमा इन्धन अभाव हुँदैनः आयल निगम

ई–आर्थिक, काठमाडौं । अमेरिका र इरानबीच बढिरहेको द्वन्दको असर विश्व बजारमा परिरहेको छ।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तर त्यसबाट नेपाली बजारमा “तत्काल ठूलो असर नपर्ने” नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतबाट तेल किन्ने गरेको छ। भारतले ८० प्रतिशतभन्दा बढी तेल इरानसहित मध्यपूर्वका अन्य देशबाट आयात गर्ने हुँदा अमेरिका-इरान तनावका कारण त्यहाँ विकसित परिस्थितिको प्रभाव नेपाली बजारमा पनि पर्न सक्ने अनुमान धेरैले गरेका थिए। यसको प्रभावका विषयमा धेरै विश्लेषणहरु भइरहेका बेला नेपालमा भने तत्काल इन्धन अभाव नहुने निगमले बताएको हो।

निगमका आपूर्ति तथा वितरण निर्देशक वीरेन्द्र गोइतले नेपाल सानो बजार भएकोले यसले नेपाललाई प्रभाव नपार्ने बताएका हुन्। ‘नेपालको आपूर्ति भारतमा निर्भर छ र भारतको तेल आयातको परिमाण यति ठूलो छ कि त्यसमा केही कमी आउँदैमा नेपालमा त्यसको प्रभाव पर्दैन’ निगमका प्रवक्तासमेत रहेका गोइतले भने ‘नेपालमा आउने पेट्रोलियम भारतको एउटा ठूलो शहरमा खपत हुने इन्धन बराबरको मात्र हो ।’

नेपालले क्रुड (कच्चा तेल) आयात नगर्ने भएकोले पनि यसको सिधा असर नेपाललाई नपर्ने उनको भनाइ छ । मुल्यको हकमा भने यही नै हुन्छ भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेमा नेपालमा पनि बढ्छ र घटेमा नेपालमा पनि घट्छ’ उनले भने ‘मूल्यमा घटबढ भएमा अन्तर्राष्ट्रिय बजारमै हुने हो नेपालमा मात्र घटबढ हुने भन्ने हुँदैन ।’ अन्तर्राष्ट्रिय बजारमा क्रुडको मूल्यको आधारमा तेलको मूल्य निर्धारण हुन्छ । हरेक पहिनाको सुरुवात र मध्यमा क्रुडको मूल्य निर्धारण हुने र सोही आधारमा पेट्रोलियमको मूल्य घटबढ हुने उनले बताए ।

नेपाल आयल निगमको भण्डारण क्षमता निकै कम छ। निगमका अनुसार आयात रोकिएमा १० दिनसम्मका लागि मात्र पुग्ने इन्धन भण्डारण गर्ने क्षमता निगमसँग छ। तर हाल भारतसँग पेट्रोलियम पाइपलाइनमार्फत् जोडिएकाले भण्डारण क्षमताको कमीले कुनै पनि असर नपार्ने निगमको दाबी छ।चालु आर्थिक वर्ष भित्र हालको भन्दा भण्डारण क्षमता ५० प्रतिशत वृद्धि गर्ने गरी काम भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij