लन्डन । मध्यपूर्वमा तनाव बढेपछि बेलायतले रोयल नेभी र सैन्य हेलिकोप्टरहरू तयारी अवस्थामा राखेको रक्षामन्त्री बेन वालेसले बताएका छन् । वालेसले संसद्मा बोल्दै सो क्षेत्रमा बेलायती नागरिक र आफ्नो चासोको सुरक्षा गर्न आपतकालीन व्यवस्था तयार राखिएको बताएका छन् । उनले अत्यावश्यकबाहेकका अन्य कर्मचारीलाई बग्दादबाट बाहिर ल्याइएको समेत जानकारी दिएका छन् । वालेसको यो भनाइ गत शुक्रबार अमेरिकाले इरानी जेनरल कासिम सुलेमानीलाई इराकमा मारेपछि उत्पन्न परिस्थितिको माझ आएको हो । वालेसले बेलायती सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा बेलायतले सबै पक्षलाई तनाव मत्थर पार्न आग्रह गरेको बताए । इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गर्दा इराकमा रहेका बेलायती सेनालाई कुनै क्षति नभएको पनि जानकारी दिएका छन् ।
बेलायती सरकारका प्रवक्ताले भने, ‘हाम्रो पहिलो प्राथमिकता बेलायती नागरिकको सुरक्षा हो ।’ इराकमा करिब ४ सय बेलायती सेना कार्यरत रहेका छन् । मंगलबार बेलायतले इरानमाथि सैन्य आक्रमण गर्ने सम्भावनाबारे गरिएको प्रश्नमा रक्षामन्त्री वालेसले अहिले कुनै कुरा हुँदैन भन्न नसकिने बताएका थिए ।
उनले बेलायती नागरिक वा सेना मारिएको खण्डमा त्यसको जवाफ आनुपातिक हुने बताएका थिए । उनले भनेका थिए, ‘बेलायतले आफ्नो सेना र नागरिकको सुरक्षाका लागि जे गर्नुपर्ने हो त्यो गर्छ । त्यो हाम्रो कर्तव्य हो ।’ एक प्रश्नको जवाफमा संसद्मा वालेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको बेलायतको समर्थन प्रश्नविहीन नभएको बताए । उनले भने, ‘हामी साथी र साझेदार हौं तर आवश्यक पर्दा आलोचनात्मक साथी र साझेदार पनि हौं ।’ वालेसले अमेरिकाले भंग गरेको इरानको परमाणुसम्बन्धी सम्झौतालाई पुनर्जीवित गर्न अन्य युरोपेली मित्रहरूसँग काम गरिरहेको बताए । बीबीसी