ई–आर्थिक, काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको फोरजी सेवाका लागि ग्राहकले मोबाइल सेट किन्दा प्राविधिक विवरणमा ध्यान दिनुपर्ने भएको छ।
टेलिकमले फोरजीबाट अधिकतम सुविधा लिन १ हजार ८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट उपयुक्त हुने बताएको छ । टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) को रेडियो तरंगमार्फत फोरजी डेटा सेवा उपलब्ध गराइरहेको बताएको छ ।
ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका शहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डेटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन ८०० तथा १ हजार ८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेट १ हजार ८०० मेगाहर्जमा चलाउन सकिने भए पनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ ।
मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोग गर्न यही ब्यान्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्ने टेलिकमको भनाइ छ । उक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने टेलिकमले जनाएको छ। कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको छ ।
कम्पनीले ग्राहकलाई नयाँ मोबाइल सेट किन्दा बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाएर फोरजी चल्ने मोबाइल किन्न आग्रह गरेको छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्ने बताएको छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ । कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
हाल कम्पनीले ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता देशभरगरी २८ लाख नाघेको टेलिकमले जनाएको छ।