२०८३ साउन ९ शनिबार

धार्मिक पर्यटकीय क्षेत्रमा केबुलकार बन्ने क्रम जारी, गैँडाकोटको मौलाकालिका मन्दिरमा पनि केबुलकार सञ्चालन हुने

ई आर्थिक    बुधबार, पौस १६ २०७६
15K
Shares
धार्मिक पर्यटकीय क्षेत्रमा केबुलकार बन्ने क्रम जारी, गैँडाकोटको मौलाकालिका मन्दिरमा पनि केबुलकार सञ्चालन हुने

ई–आर्थिक, नवलपुर । धार्मिक पर्यटकीयस्तथलमा केबलकार भन्ने क्रम बढेको छ । यसैबीच गैंडाकोट, नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए । मौलाकालिकामा केबुलकार सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएर मन्त्रालयमा फाइल पुगेको पौडेलले बताए । केबुलकार सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।

मौलाकालिका केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटकलाई लक्षित गर्दै केबुलकार सञ्चालन गर्न लागिएको बताए । ‘यो केबुलकार सञ्चालनका लागि स्थानीयसँग साझेदारी गरेर अगाडि बढ्ने तयारी गरेका छौँ’ उनले भने, ‘स्थानीयलाई शेयर कति दिने भन्नेबारे छलफल भइरहेको भए पनि बढी शेयर हामीले राख्नेछौँ ।’ केबुलकार सञ्चालनको दूरी १२ सय मिटरको हुने भन्दै ढकालले त्यहाँ ६ वटा टावर राखिने जानकारी दिए ।

ज्येष्ठ नागरिकहरु मन्दिरमा दर्शन गर्न जाँदा कठिनाइ भोग्नुपरेको कारण उनीहरुको सहजताका लागि केबुलकार सञ्चालन गर्न लागेको ढकाल बताउँछन् । उनले मौलाकालिका केबुलकारको काम शुरु भएपछि चाँडै नै बुटवल र पाल्पामा समेत केबुलकार निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

गैँडाकोटबाट केबुलकार सञ्चालनमा आएपछि चितवन र देवघाटबाट समेत केबुलकारमार्फत मौलाकालिका मन्दिरमा जोड्नका लागि अध्ययन शुरु गरिने ढकालले बताए । गैँडाकोटका जनप्रतिनिधि, धार्मिक सेवा समिति मौलाकालिका र सामुदायिक वनको आग्रहमा आफूले केबुलकार सञ्चालनको काम अगाडि बढाएको बताए। केबुलकार सञ्चालनको लागि पहिलो स्टेशन रहेने स्थान गणेश मन्दिर नजिकै ११ कठ्ठा जमिन कम्पनीले किनेको उल्लेख गर्दै ढकालले माथिल्लो स्टेशन मन्दिर नजिकै रहेको हेलिप्याडमा राखिने जानकारी दिए ।

गैँडाकोट नगरपालिका भित्रकै ठूलो परियोजनास्वरुप मौलाकालिका मन्दिरमा केबुल सञ्चालनमा आउन लागेको हो । निर्माण शुरु भएको एक वर्षमा नै केबुलकार सञ्चालनमा ल्याउने गरी काम शुरु गरिने ढकालले बताए । धार्मिक क्षेत्रलाई लक्षित गर्दै केबुलकार सञ्चालनमा आइरहेकाले नेपालमा धार्मिक पर्यटक भित्र्याउनका लागि केबुलकार महत्वपूर्ण हुने ढकालले बताए।

केबुलकार सञ्चालनमा आएपश्चात गैँडाकोट क्षेत्रमा समेत आन्तरिक र बाह्य धार्मिक पर्यटकको वृद्धि हुने नगर प्रमुख पौडेलले बताए। नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै सरकारले घोषणा गरेको एक सय गन्तव्यमा गैँडाकोटको मौलाकालिका मन्दिरसमेत परेको छ । यहाँ वर्षेनी पाँच लाखको हाराहारीमा धार्मिक पर्यटक आउने गरेको धार्मिक सेवा समिति मौलाकालिकाले जनाएको छ ।

केबुलकार क्षेत्रमा चन्द्रगिरी हिल्स प्रालिपछिको दोस्रो आयोजनाको रुपमा मौलाकालिकामा केबुलकार सञ्चालन गर्न लागेको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij