ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को भोली बुधबार औपचारिक शुभारम्भ गर्दैछिन् । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भ्रमण बर्षलाई १ जनवरी २०२० दिन शुभारम्भ गर्न लागिएको हो । बिशेष समारोहकाबिच दशरथ रङ्गशालामा उट्घाटन गरिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने छन् ।
सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम पनि तय गरिएको छ । भ्रमण बर्षलाई सफल बनाउन जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ । देशभित्र १६ हजारलाई निमन्त्रणा गरिएको उद्घाटन कार्यक्रममा ४० भन्दाबढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता रहनेछ ।
भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकबाट प्रतिष्ठित सञ्चारमाध्यमको प्रतिनिधित्व रहनेछ । विदेशी पत्रकारलाई देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा तीनदेखि पाँच दिनसम्मको भ्रमणको व्यवस्था मिलाइएको व्यवस्थापनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गर्न ध्यान केन्द्रित गरिने बोर्डको भनाई छ ।
कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, बिभिन्न पर्यटनमन्त्रीज्यूहरु, संघीय सरकारका माननीय मन्त्रीहरु, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुखहरु, विदेशी नियोगका प्रमुखहरु, विभिन्न देशका प्रतिनिधिहरुको उपस्थिति रहने छ । शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघ संस्थाहरु, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरुको ब्यानर र पोशाक सहित मार्चपास रहनेछ ।
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुती रहनेछ । नेपालको ख्यातीप्राप्त कलाकारहरुको पनि सांगीतिक प्रस्तुती रहनेछ । त्यसैगरी नेपालको सांस्कृतिक विविधता झल्किने माैिलक प्रस्तुतीहरु प्नि रहनेछन् । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य छ । पर्यटनलाई नेपाली अर्थतन्त्रको प्रमुख आधार बनाउन बर्षेनी पर्यटक बढाउँदै लैजाने सरकारको लक्ष्य छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन उद्योगको करिब ३ प्रतिशत योगदान छ । १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।