२०८३ साउन ९ शनिबार

गृह जिल्लाबाट चन्द्रप्रसाद ढकालले घोषणा गरे महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी

ई आर्थिक    शुक्रबार, पौस ११ २०७६
8.8K
Shares
गृह जिल्लाबाट चन्द्रप्रसाद ढकालले घोषणा गरे महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी

बागलुङ उद्योग बाणिज्य संघद्वारा प्रस्ताव

ई–आर्थिक, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को बरिष्ठ उपाध्यक्ष पदमा प्रतिष्ठित व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेद्वारीको घोषणा गरेका छन । गृह जिल्ला बागलुङमा पुगेर उनले उक्त पदमा उम्मेद्वारी घोषणा गरेका हुन । बागलुङमा आयोजित एक कार्यक्रममा उनले उम्मेद्वारी घोषणा गरेका थिए ।

कार्यक्रममा अधिकाश प्रदेश, जिल्ला तथा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बागलुङमा शुरू भएको बागलुङ महोत्सवमा बागलुङ उद्योग बाणिज्य संघले वरिष्ठ उपाध्यक्षको लागि प्रस्ताव गरेपछि ढकालले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको उम्मेद्वारीको घोषणाले निजी क्षेत्रमा उत्साह जगाएको छ । नेपालको प्रतिष्ठित र सफल ब्यबसायी ढकाल निजी क्षेत्रका हस्ती मानिन्छन् ।

उनी उद्योग ब्यबसायको क्षेत्रमा अनुभबी र योग्य ब्यक्तित्वभित्र पर्दछन् । निजी क्षेत्रलाई राम्रोसँग बुझेका ढकाल सबै क्षेत्रसँग समन्वयकारी भुमिका निर्बाह गर्न सक्ने ब्यक्तिका रुपमा पनि परिचित छन् । सबै राजनीतिक दलहरुसँग समदुरीको सम्बन्ध राख्ने ढकाल सरकारमा समेत राम्रो पहुँच बनाउने ब्यबसायीमध्ये पर्दछन् । उनी जस्तो ब्यक्तित्व महासंघको बरिष्ठ उपाध्यक्ष पदमा निर्बाचित भए महासंघले सही दिशा लिने उद्यमी ब्यबसायीहरुको आशा छ ।

ढकालको यो उम्मेद्वारी घोषणाले महासंघको ह्वात्तै चुनाबी माहौल सिर्जना गरेको छ । अब सबैको ध्यान आगामी नेतृत्वमा गएको छ । नेत्तृत्वका लागि निकै रस्साकस्सी हुने अनुमान गर्न थालिएको पनि छ । आगामी चैतमा हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षलाई त्यसपछिको कार्यकालको अध्यक्षका रुपमा लिइन्छ । यसैले बरिष्ठ उपाध्यक्ष पदको विशेष महत्व रहन्छ । उद्योगी शेखर गोल्छा अहिले वरिष्ठ उपाध्यक्ष छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले उनी अब अध्यक्ष बन्ने छन् ।

महासंघको नेत्तृत्व चयनमा ढकाल अहिलेसम्म निर्विरोध हुँदै आएका छन् । अहिले पनि उनका लागि प्रतिस्पर्धी देखिएका छैनन् । उनी निकट ब्यबसायीहरुका अनुसार ढकाल निर्विरोध बरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष हुन चाहन्छन् । नेतृत्वको लागि हुने अस्वस्थ्य प्रतिस्पर्धाले महासंघमा ल्याउने गरेको बिभाजनले सबैलाई कमजोर बनाउने गरेको दृष्टान्तप्रति उनी सचेत छन् । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी दिने पनि चर्चा छ । उनी अहिले जिल्ला÷नगर उद्योग वाणिज्य तर्फका उपाध्यक्ष हुन् । उनी वरिष्ठ उपाध्यक्ष शेखरसँग निर्वाचनमा हारेका थिए । तर प्रधान ढकालको तुलनामा कमजोर उम्मेद्वार मानिन्छन् ।

को–हुन ढकाल ? कस्तो छ महासंघका उनको यात्रा ?
ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित भएका ढकाल महासंघको एसोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ढकाल महासंघ अन्तर्गत रोजगारदाता परिषद्का सभापति पनि हुन् ।

कार्गो व्यवसायबाट व्यवसाय सुरु गर्नुभएका ढकाललाई आइएमई मार्फत रेमिटेन्स व्यवसायलाई संस्थागत गरेको श्रेय दिइने गरिन्छ । ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, उर्जा, अटोमोबाइल, सूचना–प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना ‘आइएमई ग्रुप’का अध्यक्ष हुन् ।

व्यवसायीक क्षेत्रका अतिरिक्त ढकाल सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील छन् । पश्चिमाञ्चल विकास मंचका अध्यक्ष समेत भएका ढकाल नेपालका लागि इन्डोनेसियका बाणिज्य दूत हुन् ।

सरल स्वाभाव र मिलनसार व्यक्तित्वको छवि बनाउनुभएका ढकाल आफुले जिम्मेवारी लिएका कामप्रति गहिरो समर्पण र अभिरुचि राख्छन् ।

दर्जनौं राष्ट्रिय मानपदवीबाट सम्मानित हुनुभएका ढकाल पिता स्व. हिरण्यप्रसाद ढकाल र माता जानुका ढकालको कोखबाट विक्रम सम्वत् २०२२ मा बागलुङ–१२, अमलाचौरमा जन्मिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij