ई–आर्थिक, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षकहरुले नक्कली कम्पनीको लेखा परीक्षण गर्ने गरेको आरोप लगाउनुभएको छ । लेखा परीक्षण गरेका नक्कली कम्पनीहरुकै कारण मुलुकले निकै ठूलो मूल्य चुकाउनु परेको उहाँको भनाई थियो ।
इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले कति लेखा परीक्षकले थाहा पाएरै र कतिले अन्जानबश नक्कली कम्पनीको लेखा परीक्षण गरिदिने गरेको पनि बताउनुभयो । मूल्य मान्यता बाहिर गएर नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न पनि लेखा परीक्षकहरुलाई उहाँले आग्रह गर्नुभयो ।
लेखा परीक्षकले आफ्नो कर्तब्य लेखापरीक्षण मात्रै गर्ने हो भन्ने जस्तो बुझाई रहेको बताउँदै खतिवडाले कम्पनीको उद्देश्य र अबस्थाका बारेमा ध्यान नदिएको पनि आरोप लगाउनुभयो । ‘कानुन व्यवसायीले पेशागत कुरा गर्दै जस्तोसुकै पनि मुद्दा लडे जस्तो लेखा परीक्षणलाई बुझ्नु भएन ।’ उहाँले भन्नुभयो । अहिले नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै अर्थमन्त्री खतिवडाले त्यस्ता कम्पनीहरुलाई सुधार गर्न लेखा परीक्षण क्षेत्रको अहम् भूमिका हुने बताउनुभयो ।
ऋण लिने र नतिर्ने प्रयोजनकै लागि खराब नियतका साथ कतिपय कम्पनीहरु खडा हुने र नक्कली नै लेखा परीक्षण प्रतिबेदन तयार पारी ऋण माग्ने गरेको उहाँको भनाई थियो । उनीहरु नक्कली नागरिकता र नक्कली सेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिने अबस्था डरलाग्दो गरी बढेको अर्थमन्त्रीको भनाई छ । कर्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखापरीक्षकका कारण भ्रष्टाचार बढ्दै गएको बताउनुभयो ।
लेखापरीक्षकले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको उहाँको भनाई थियो । प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको तथ्य बताउनुभयो । कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखापरीक्षकहरुले लेखापरीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरुमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताउनुभयो ।
यसबाट लेखापरीक्षकहरु व्यवसायिक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने उहाँको जोड थियो ।