२०८३ साउन १० आइतबार

गधाको दूधबाट बनेको चीजको मूल्य प्रतिकिलो करिब सवालाख रुपैयाँ

ई आर्थिक    शनिबार, असोज ११ २०७६
9.4K
Shares
गधाको दूधबाट बनेको चीजको मूल्य प्रतिकिलो करिब सवालाख रुपैयाँ

गधाको दूधको चीज बनाउने उनी पहिलो कृषक हुन्। संसारमा यस्तो चीज निकै कम परिमाणमा उपलब्ध छ। यसको उत्पादन असाध्यै थोरै हुन्छ। त्यसैले यसको प्रतिकिलो मूल्य १,००० युरो वा १,१०० अमेरिकी डलर पर्छ।

सिमिक भन्छन्, ‘हामी ५० ग्रामको प्याकेट बनाउँछौँ। एक प्याकेटले दश जनालाई पुग्छ। यो चीज कसैले पनि आधा किलो एक किलो खाला भन्ने म सोच्नै सक्दिन।’

आफ्नी प्रेमिकालाई प्रभावित पार्न चाहने युवकहरूले यो चीज उपहारका रूपमा किन्ने गर्छन्। सर्बियाका सबभन्दा चर्चित व्यक्तिमध्ये एक टेनिस खेलाडी नोभाक जोकोभिचले आफ्ना रेष्टुरेन्टहरूका लागि यो चीज किन्छन्।

सिमिकले हरेक वर्ष जम्मा ५० किलो चीज बनाउने गरेको बताए। त्यसलाई निर्यात गर्न भने दुग्ध पदार्थमा लगाइएका नियमहरूका कारण समस्या रहेको उनी बताउँछन्।

तर संसारभरका धनी मानिसहरू यो विशेष उत्पादन किन्न जहाज चढेर आउने गरेको उनले बताए। उदाहरणका लागि मलेसियाबाट आएका एक धनी मानिसलाई १५ किलो चीज बेचेको उनी सम्झिन्छन्।

तर यो चीज किन यति महँगो भयो होला?

धेरै मुलुकहरूमा गधालाई भारी बोक्न र कृषि कार्यका लागि प्रयोग गरिन्छ। कैयौँ ठाउँमा यसको दूध पिउने गरिन्छ। तर यसको दूधबाट चीज बनाउने कुरा सजिलो छैन।

स्लोबोदान सिमिक भन्छन् गधाको चीजको फरक स्वाद हुन्छ र स्वास्थ्यका लागि पनि राम्रो हुने बताइन्छ । त्यो किनभने गधाको दूधमा केसीन भन्ने प्रोटिन हुँदैन जसले दूधलाई फटाउन मद्दत गर्छ।

त्यसैले सिमिकले एकजना विशेषज्ञलाई दूध फटाउने प्रविधि पत्ता लगाउने काममा राखेका छन्– यसको सूत्र चाहिँ गोप्य राखिएको छ। ‘उनलाई मात्रै थाहा छ त्यो प्रविधि, मलाई पनि थाहा छैन’ सिमिक भन्छन्।

गाईले भन्दा गधाले कम दूध दिन्छन् र हरेक एक किलो चीज बनाउन २५ लिटर दूध आवश्यक पर्छ। सिमिकले यो व्यवसाय न पैसाका लागि सुरु गरेका हुन् न कुनै कुरा अन्वेषण गर्ने भन्ने नै उनको उद्देश्य थियो।

उनलाई त स्काउट जस्ता संस्थामा काम गर्नु वा प्रकृति सम्बद्ध काम गर्ने सोख छ। सर्बियाली राजधानी बेलग्रेडदेखि ८० किलोमिटर टाढा रहेको एउटा प्रकृति संरक्षण क्षेत्रमा काम गर्न पाएपछि त्यो नै उनको पूर्णकालीन पेशा बन्न पु्ग्यो। त्यहाँ धेरै किसिमका जनावरहरू थिए तर गधाहरू भने थिएनन्।

उनले सोचे, ‘केही गधा पनि पाल्नुपर्‍यो।’ लगत्तै उनले २० वटा खान राम्ररी नपाएका र प्रयोगमा नरहेका गधाहरू खरिद गरे। ‘सर्बियामा गधाहरू मुर्ख जनावर हुन् भन्ने पूर्वाग्रह छ। तर त्यसमा सत्यता छैन। यो असाध्यै राम्रो जनावर हो,’ सिमिक तर्क गर्छन्।

केही समयपछि ती गधाहरूले बच्चा जन्माउन थाले। उनले केही गधाहरूको दूध दुहुन थाले। उनले दुहेको दूध बेच्नका लागि बजार असाध्यै सानो थियो त्यसैले उनले चीज बनाउने विचार गरे।

अहिले उनीसँग २५० गधा छन्। उनले गधा पाल्न सुरु गर्नु अघि पूरा देशमा गधाको सङ्ख्या ५०० मात्र थियो। ‘म हरेक दिन १०० ग्राम जति गधाको दूध पिउँछु। म करिब ६५ वर्षको भएँ। मलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या छैन।’

सिमिक भन्छन् उनको सफलता देखेर अरू दशजनाले पनि गधा पाल्ने काम सुरु गरेका छन्। उनले आफूलाई गधा प्रचारक भन्छन्। ‘म जताततैका मानिसलाई गधाको दूध पिउन आग्रह गर्छु। गधालाई घरपालुवा जनावर बनाएपनि भयो।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij