कपाल झर्नु सामान्य जस्तो लागे पनि यो एउटा रोग हो । कपाल झरेका मानिसहरूलाई यसले मनोवैज्ञानिक रूपमा ठूलो चोट पु¥याएको हुन्छ । कपाल झर्ने समस्याले मानिसहरूमा डिप्रेसनसम्म पैदा भएको देखिन्छ । कपाल झर्ने रोग चित्त दुखाउने र चिन्तित हुने कुरा हो । यसले मानिसको देखिने मुखाकृतिमा समेत अनौठो परिवर्तन ल्याइदिन्छ । वास्तवमा कपाल पुरुष होस् वा महिला एक सौन्दर्य पनि हो । हेयर स्टाइलले मात्र पनि मानिसको देखिने आकृति र गेट अपमा निकै सौन्दर्य थप्दछ ।
कपाल झर्ने भनेकै अधिकांशको तालु खुइलिनु हो । खुइलिएको तालुमा कपाल आउने सम्भावना प्रायः हुँदैन । आयो भने पनि कम मात्र आउँछ । तर, पनि आवश्यक रूपमा कपाल उमार्नका लागि मानिसहरू निकै चिन्ताका साथ लागि परिरहेका हुन्छन् । केही मानिस त कपाल उमार्नका लागि यति धेरै क्रेजी हुन्छ कि कपाल आउँछ भन्ने आशामा उसले हर क्षण दुईवटा हातको नङ रगडेर जुधाइरहेको हुन्छन् ।
कपाल झर्नुका विभिन्न कारणहरू छन् । शरीरमा हुने थाइराइड, क्यान्सर, डाइटिङ, तनाव आदिका कारणले पनि कपाल झर्छ । हार्मोनको कारणले पनि कपाल झर्छ । कपाल झर्नुलाई डाक्टरहरू ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भन्छन् । मानिसका टाउकामा अघिल्लो भाग र पछिल्लो भागमा हुने कपाल भिन्न खालका हुन्छन् ः एन्ड्रोजेन सेन्सेटिभ र एन्ड्रोजेन इन्सेन्सेटिभ । एन्ड्रोजेन सेन्सेटिभ भनेको टाउकाको अगाडिपट्टिको भागमा हुने कपाल हो । यो प्रकृतिको कपाल निकै कमजोर र मुलायम हुन्छ । यो साना करणले पनि झर्न बेर गर्दैन ।
मानिसको अघिल्तिरको कपाल झर्नुको खास कारण यही हो । निधारतिरबाट झर्दै गएर तालु खुइलिनु यसै कारणले हो । तर, नेपालमा धेरै अध्ययन गर्ने मानिसको तालु खुइलिन्छ भन्ने मजाको विश्वास पनि छ । शरीरमा हार्मोनको गडबडी, वंशानुगत कारण र कपालमा बढी केमिकल मिसाइएका स्याम्पु र साबुनको प्रयोगले झर्छ । पछिल्लो चरणमा त कपाल झरेका मानिसहरूले कपाल प्रत्यारोपण पनि गर्ने गरेको पाइन्छ । तर, कपालको उपचारका लागि डाक्टरहरूसँगको सल्लाह नै सबैभन्दा राम्रो उपाय हो ।