२०८३ साउन १२ मंगलबार

साझा बसको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

ई आर्थिक    मंगलबार, चैत्र २६ २०७५
4.2K
Shares
साझा बसको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

ई–आर्थिक, २६ चैत्र २०७५, काठमाडौँ । साझा यातायातले शुरु गरेको ‘इ-टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ। ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ।

परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो। भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ। परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत साझाले कार्डको बिक्री गरिरहेको प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिए।

इ–टिकेटिङ यात्रुका लागि नयाँ भएकाले अहिलेसम्म उनीहरुमा अन्योल रहेको उनले बताए। उनका अनुसार कतिपय यात्रुले सबै बसमा लागू होस् भन्ने चाहेका छन् । उनले भने, “कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसहरुमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुन्छ।”

साझा यातायातले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ नयाँ सुविधा भित्र्याएको छ। नयाँ सुविधाकै रुपमा ‘इ–टिकेटिङ’ रहेको प्रबन्धक पाण्डेयले बताए।

साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको  छ । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो। विभिन्न समस्याका कारण दुई दशकसम्म साझाको यातायात सेवा ठप्प भयो। विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो।

पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ। साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ।

साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ। साझाले काठमाडौँदेखि बाग्लुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij