श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिनभित्र सूचीकृत हुन अनुरोध गरेको हो । मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए । दुई सय ३७ वटा संस्था संस्था दर्ता छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।
स्वास्थ्य परीक्षणका लागि मलेसियाले नयाँ मापदण्ड पठाएपछि सरकारले गृहकार्य गरेर मापदण्ड पुग्ने संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । जेठदेखि रोकिएको मलेसिया रोजगार अब खुल्ने अन्तिम चरणमा पुगेकामा व्यवसायीसमेत खुसी देखिन थालेका छन् ।
प्रवक्ता डा.नारायण रेग्मीले मलेसियाले पठाएको मापदण्डका आधारमा सरकारले सूचना जारी सूचीकृत हुन आह्वान गरेको जानकारी दिए । रेग्मीका अनुसार यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ वटा बायोमेट्रिक संस्थासमेत सूचीकृत हुन पाउँछन् । ‘मापदण्ड पुग्ने सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्’, उनले भने । देशभर दुई सयभन्दा बढी स्वास्थ्य परीक्षण गर्ने संस्था छन् ।
कलिङ भिसा सुरु भएसँगै करिब सात हजार कामदार मलेसिया आइतबारदेखि जान थालेका छन् । ‘आइतबारदेखि नै कलिङ प्राप्त कामदार जान थालिसकेका छन्’, उनले भने, ‘केही दिनभित्र कलिङ भिसा सबै जाने छन् ।’ अलमल र अश्चित अवस्थामा रहेका कामदार मलेसिया जान पाउने निर्णय भएसँगै खुसी देखिएका छन् । सिरहाका रोकश बर्मा सेक्युरिटी भिसामा मलेसिया जान पर्खेको छ महिनाभन्दा बढी भइसक्यो । भदौमा कलिङ भिसा प्राप्त गरेका उनी जान नपाउँदा तनावमा थिए । सरकारले कलिङलाई खुला गरेसँगै उनी मलेसिया जाने तयारीमा जुटेका छन् । उनले सेक्युरिटी कम्पनीमा काम गर्दा खानासहित ६० हजार रुपैयाँ पारि श्रमिक पाउने तय भएको बताए ।
‘आजभोलि भन्दाभन्दै यतिका समय भइसक्यो’, उनले भने, ‘अब त मलेसिया जान पाइँदैन होला भन्ने लागिसकेको थियो’, उनले भने, ‘तर अब छिट्टै जान पाइने निर्णयले खुसी लागेको छ ।’ बर्मा सन् २००६ मा कतार पुगेका थिए । एक वर्षमै कम्पनी बन्द भएपछि रित्तो हात घर फकिर्नुप¥यो । सन् २०१३ मा साउदी पुगेका उनी दुई वर्ष त्यहाँ काम गरे । साउदीमा पनि सन्तोषजनक कमाइ हुन नसकेपछि नेपाल फर्केर मलेसिया जाने योजना बनाएका बर्मा लामो समयसम्म मलेसिया रोजगार नखुल्दा अन्योलमा थिए ।
१० महिनासम्म मलेसिया नखुल्दा रेमिट्यान्स पनि घट्ने देखिएको छ । गत वर्ष रेमिट्यान्समा मलेसियाको योगदान करिब एक तिहाइ थियो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसमध्ये दुई खर्ब रेमिट्यान्स मलेसियाबाट आएको थियो। मलेसियामा कामदार जान नपाउँदा अर्को वर्ष रेमिट्यान्समा असर पर्न सक्ने अर्थविद् बताउँछन् ।
नयाँ मापदण्डका आधारमा प्रतिश्पर्धात्मक ढंगबाट स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट हुने प्रवक्ता रेग्मीले बताए । मलेसियाले विद्यमान संस्था हटाउन नचाहँदा र नेपाल सरकार त्यही संस्थाबाट कामदार पठाउन अनिच्छुक देखिँदा सम्झौता भएको चार महिना बितिसक्दा पनि पनि कामदार मलेसिया जान पाएका थिएनन् । समझदारीअनुसार कामदार निःशुल्क मलेसिया जान पाउनेछन् । उनीहरूले लेबीसमेत तिर्नुपर्ने छैन । भिसालगायत प्रक्रियाको खर्च रोजगारदाताले नै तिर्ने भएपछि कामदारलाई राहत हुने भएको छ ।
श्रम सम्बन्धी गुनासो सुन्न कल सेन्टर, सिधै मन्त्रीको मोबाइमा पुग्नेछ सूचना

उपेन्द्र अर्याल, काठमाडौं : तपाईँ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ?
वा तपाईँलाई हालै सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित जुनसुकै जिज्ञासा छ ? श्रमसँग सम्बन्धित अन्य कुनै गुनासो छन् ?
अब तपाईँ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाईँको गुनासो सुन्न सरकारले सिंहदरबारमा कल सेन्टर स्थापना गरेको छ। गुनासो सुन्ने अधिकारीले गुनासो हेरी सम्बन्धित निकायमा पठाउनेछन् र द्रुत समाधानको उपाय सुझाउनेछन्।
यदि द्रुत कारबाही भएन भने त्यसको जानकारी स्वचालित रुपमा श्रम मन्त्री गोकर्ण विष्टको मोबाइलमा पुग्नेछ।
सरकारले आन्तरिक तथा बाह्य रोजगारी सम्बन्धी गुनासो सम्बोधनका लागि सोमबारदेखि ‘कल सेन्टर’ सुरु गरेको हो। यो कल सेन्टरमा नागरिकले वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, आधाभूत श्रम व्यवस्था र प्रधाननमन्त्री रोजगार कार्यक्रमका विषयमा आफ्ना गुनासो राख्न सक्नेछन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सोमबार मन्त्रालयमा भएको कार्यक्रममा कल सेन्टर उद्घाटन गरे। ‘श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा सम्बन्धी सरोकारवालाका गुनासा, जिज्ञासा तथा सुझावहरूलाई प्रत्यक्ष संकलन गरी समस्या समाधान गर्न कल सेन्टर स्थापना गरिएको हो,’ मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण तालिम र वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षाबारेका जानकारीहरू लिन सकिन्छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गुनासो सुन्न कल सेन्टरको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट। फोटोः रोशन सापकोटा/रासस
कल सेन्टर मार्फत आएका गुनासोहरूलाई प्राथमिकताका अधारमा सम्बोधन गरिने मन्त्री बिष्टको भनाइ छ। यो सेवा मार्फत शत-प्रतिशत गुनासो सम्बोधन नभए पनि आधाभन्दा बढी समस्या समाधान गर्न सकिने मन्त्री विष्टको विश्वास छ।
‘कल सेन्टरमार्फत शतप्रतिशत गुनासो सम्बोधन नहुन सक्छ,’ उनले भने, ‘कम्तिमा ५०/६० प्रतिशत गुनासो सम्बोधन हुन सके यो जनताको हितमा हुन्छ।’
सेवाग्राहीले सिधै फोन गरी अथवा सामाजिक सञ्जालमार्फत पनि कल सेन्टरबाट जानकारी लिन तथा गुनासो गर्न सक्ने व्यवस्था गरिएको कल सेन्टरका प्रमुख पारश खरेलले जानकारी दिए।
सेवाग्राहीले गुनासो गर्न स्वदेशबाट भए निःशुल्क ११४१ वा १६६००१५०००५ तथा विदेशबाट भए सशुल्क +९७७-१५९७००८ मा सिधै फोन गर्न सक्नेछन्। खरेलले भने, ‘इमेल, भाइबर, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने व्यवस्था गरिएको छ।’
कल सेन्टरमा अहिले एकै समयमा ४ वटासम्म फोनको उत्तर दिन सकिने व्यवस्था मिलाइएको उनले बताए। ‘एकै समयमा ४ वटा भन्दा बढी कल आए वेटिङमा बस्छ,’ उनले भने।
सम्बोधन नगरे मन्त्रीको मोबाइलमा सूचना
कल सेन्टरमा आएका गुनासो सम्बन्धित निकायका कर्मचारीले सम्बोधन गरे नगरेको सूचना पनि सिधै मन्त्री बिष्टको मोबाइलमा जाने व्यवस्था भएको उनले बताए।
कल सेन्टरमा काम गर्नका लागि अहिले ९ जना कर्मचारी करारमा नियुक्त गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक दिनबन्दु सुवेदीले बताए।
कल सेन्टर बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म खुल्नेछ। ‘गुनासोको चाप हेरी आवश्कता अनुसार २४ घण्टै खोल्न सकिन्छ,’ मन्त्री विष्टले भने।
अन्नपूर्ण पोष्टबाट