२०८३ साउन ९ शनिबार

आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

ई आर्थिक    आइतबार, फाल्गुन १२ २०७५
2.8K
Shares
आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन : पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ ।

गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई यहाँ पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् ।

यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ । स्थानीय शिव राईले भन्नुभयो, “यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”

विगतमा प्रचारप्रसारको अभावले यो झर्ना निकै ओझेलमा परेको देखिन्छ । तर स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करीब रु छ लाख बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो ।

यस झर्नाको विकास गर्नका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष धु्रवराज राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत कुरा खानाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँछाँै ।” मध्यपहाडी लोकमार्गले छोएको कारण पनि यो झर्नामा आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij