२०८३ साउन ९ शनिबार

नेपालमा विदेशी लगानी ७६ प्रतिशतले घट्यो, वैदेशिक लगानी प्रतिबद्धता भने दोब्बरले बढ्यो

ई आर्थिक    सोमबार, मंसिर १० २०७५
12.8K
Shares
नेपालमा विदेशी लगानी ७६ प्रतिशतले घट्यो, वैदेशिक लगानी प्रतिबद्धता भने दोब्बरले बढ्यो

कृष्ण रिजाल, काठमाडौं : सरकारले उच्च आर्थिक वृद्धि हासिल गर्न स्वदेशी पुँजी मात्रै पर्याप्त नहुने भन्दै बढीभन्दा बढी विदेशी लगानी भित्र्याउने नीति लिएको छ । तर, सरकारको नीतिविपरीत विदेशी लगानी आप्रवह भने ओरालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा विदेशी लगानी आप्रवाह निकै घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा नेपालमा १ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । यो लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ६७ प्रतिशतले कम हो । गत आवको पहिलो ३ महिनामा ६ अर्ब ७ करोड रुपैयाँबराबरको विदेशी लगानी भित्रिएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेलगत्तै पत्रकारसँग कुराकानी गर्दै लक्षित आर्थिक वृद्धि हासिल गर्न स्वदेशी पुँजी मात्रै पर्याप्त नहुने भन्दै विदेशी पुँजी परिचालनमा सरकारले विशेष जोड दिने बताएका थिए । तर, सरकारले बाह्य पुँजी परिचालनलाई प्राथमिकतामा राखे पनि त्यसको मुख्य स्रोतमध्येको एक विदेशी लगानी आप्रवाह भने निकै खस्किएको हो ।

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘डुइङ विजनेस २०१८’ रिपोर्टमा नेपाल ५ स्थान तल झर्दै १ सय १० स्थानमा पुगेको छ । एकातर्फ विश्व बैंकको डुइङ विजनेस रिपोर्टमा नेपालको स्थान खस्किनु र अर्कातर्फ विदेशी लगानी आप्रवाह निकै घट्नु राम्रो संकेत नभएको एक उद्योगीले बताए । यसले नेपालमा लगानीको वातावरणमा अझ सुधारको खाँचो रहेको देखिएको उनको भनाइ छ ।

तर, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट १–२ महिनाको तथ्यांकलाई आधार मानेर विदेशी लगानी आप्रवाह घट्यो–घटेन भनी विश्लेषण गरिहाल्न नहुने बताउँछन् । ‘उद्योग विभागको तथ्यांकले विदेशी लगानी प्रतिबद्धता बढेको देखाएको छ, यही ३ महिनामा विदेशी लगानी आप्रवाह भने घटेको देखिन्छ,’ उनले भने, ‘तर, कतिपय विदेशी लगानी आप्रवाह स्वीकृतिको चरणमा रहेको तथा कतिपय प्रक्रियामा रहेकाले किन घट्यो भनेर अहिल्यै विश्लेषण गर्नु ठिक हुँदैन ।’

बाह्य क्षेत्र अत्यन्तै कमजोर
पछिल्लो ३ महिनामा नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र अत्यन्तै कमजोर देखिएको छ । नेपालले विदेशबाट गर्ने आयको तुलनामा व्यय बढी देखिएको छ । वस्तु तथा सेवा आयातमा भएको उच्च घाटासँगै नेपालको चालू खाता घाटासमेत बढेको छ । समीक्षा अवधिमा चालू खाता घाटा ८१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब ५२ करोड थियो । अधिकांश बाह्य क्षेत्रका सूचकांक नकारात्मक देखिएपछि मुलुकको समग्र शोधनान्तर घाटासमेत अत्यधिक बढेको छ । अघिल्लो वर्षको ३ महिनामा ४ अर्ब २७ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा ३५ अर्ब ४२ करोडले घाटामा छ । असोज महिनामा मात्रै सोधनान्तर घाटा ९ अर्ब ९७ करोड थपिएको छ । भदौ मसान्तसम्म यस्तो घाटा २५ अर्ब ४५ करोड मात्रै थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको ३ महिनामा व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले बढेर ३ खर्ब ४९ अर्ब पुगेको छ । प्रत्यक्ष विदेशी लगानीसँगै पुँजीगत ट्रान्सफर पनि घटेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड रुपैयाँ छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड रुपैयाँले न्यून हो । समीक्षा अवधिमा खुद सेवा आयसमेत १९ अर्ब ८१ करोड घाटामा गएको छ । यद्यपि, रेमिट्यान्स आय भने ३७ दशमलव ३ प्रतिशतले बढेको छ । ३ महिनामा नेपालमा कुल २ खर्ब ४२ रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

तर, प्रतिबद्धता दोब्बरले बढ्यो
प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह घटेको देखिए पनि लगानी प्रतिबद्धता भने दोब्बरले बढेको छ । उद्योग विभागका अनुसार समीक्षा अवधिमा विभागले ८ अर्ब ४३ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै दोब्बरले बढी हो । गत आवको पहिलो ३ महिनामा विभागले ४ अर्ब ८१ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत गरेको थियो ।

लगानी घट्यो भनेर विश्लेषण गर्ने वेला भइसकेको छैन
डा. गुणकर भट्ट
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
चालू आवको ३ महिनाको तथ्यांकले प्रत्यक्ष विदेशी लगानी आप्रवाह घटेको देखिएको छ । तर, एक–दुई महिनाको तथ्यांकलाई आधार मानेर विदेशी लगानी आप्रवाह घट्यो–घटेन भनी विश्लेषण गरिहाल्न हुँदैन । उद्योग विभागको तथ्यांकले विदेशी लगानी प्रतिबद्धता बढेको देखाएको छ । विदेशी लगानी प्रतिबद्धता बढेको छ, कतिपय विदेशी लगानी आप्रवाह स्वीकृतिको चरणमा छन्, अबका महिनामा लगानी बढेको देखिन सक्छ । त्यसैले अहिल्यै लगानी किन घट्यो भनेर विश्लेषण गर्न ठिक हुँदैन ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij