२०८३ साउन ११ सोमबार

सहकारीमार्फत खुल्दै चिया कारखाना

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०७५
7.6K
Shares
सहकारीमार्फत खुल्दै चिया कारखाना
विप्लव भट्टराई, इलाम — हरियो चियापत्तीको उचित मूल्य नपाएको गुनासो गरिरहेका कृषकले सहकारी स्तरबाटै कारखाना खोल्ने क्रम बढेको छ  । जिल्लामा रहेका ठूला कारखानाले ज्याला पनि नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका कृषक आफैं मालिक पनि बन्ने ध्याउन्नमा लागेका हुन्  ।

इलामको सूर्योदय नगरपालिकास्थित करफोकमा रहेको रमणीय चिया बगान । चियाको उचित मूल्य प्राप्त गर्ने उद्देश्यले सहकारी स्तरबाट चिया कारखाना खुल्ने क्रम बढ्दो छ । तस्बिर : विप्लव/कान्तिपुर

देशभरमा सहकारीमार्फत ३१ कारखाना खुलेका छन् । झापामा खुलेका ४ वटाबाहेक सबै अर्गानिक छन् । ‘सहकारीबाट खुलेका मध्ये इलाममा ८ वटा कारखाना छन् भने बाँकी पाँचथर, धनकुटा, ललितपुरलगायत जिल्लामा सञ्चालन भइरहेका छन्,’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले भने, ‘यस्ता कारखानाले कृषकलाई उपयुक्त मूल्य दिन सघाउ पुग्नेछ जसका लागि संघले सबै सहकारीलाई गोलबद्ध गर्दै बजारीकरणमा पनि उत्तिकै सघाएको छ ।’

भर्खरै मात्र देउमाई नगरपालिका ३ राँकेटारमा सहकारीमार्फत चिया प्रशोधन कारखाना खुलेको छ । त्यस्तै सूर्योदय नगरपालिकाको बरबोटे, फाकफोक थुमको तीनजुरे, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाबीचको तालगाउँलगायत स्थानमा सहकारीमार्फत चिया कारखाना खुलेका छन् । सहकारीमार्फत जिल्लामा खुलेका चिया कारखानामा सयौं कृषकको लगानी छ ।

राँकेटारमा १ सय ६१ जना कृषक सदस्य रहेको उच्च पहाडी चिया उत्पादक सहकारी संस्थाले कारखाना सञ्चालनमा ल्याएको हो । कारखानाकालागि सहकारीमा आबद्ध कृषकले १ करोड रुपैयाँ लगानी गरेको हो । कृषकको उत्साहमा सघाउँदै उन्नति समावेशी वृद्धि कार्यक्रमले ५० लाख रुपैयाँ सहयोग गरेको थियो ।

कारखानाको दैनिक १५ सय किलो हरियो चियापत्ती प्रशोधन गर्ने क्षमता छ । सहकारी स्तरमा खुलेको यो कारखाना नगरपालिकाकै ठूलो उद्योग भएको छ । सहकारीले नासा अन्तर्राष्ट्रिय अर्गानिक प्रमाणीकरण निकायबाट अर्गानिक प्रमाणित गरिसकेको छ । वार्षिक ३० हजार किलो तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यहाँको उत्पादन अझै पनि भारतमुखी बजारमा निर्भर रहेकाले कृषकलाई उपयुक्त मूल्य दिन नसकिएको अन्य चिया कारखानाको भनाइ छ । जिल्लामा सञ्चालित अर्थोडक्स चिया कारखानाले आन्तरिक र पश्चिमा बजारमा केही र बाँकी चिया भारतको कोलकातामा बिक्री गर्दै आएका छन् ।

‘भारतमुखी बजारको विकल्पको खोजी नगरिएसम्म अझै पनि मुस्किल छ,’ सूर्योदय नगरपालिकाको बरबोटेस्थित इलामेली चिया सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले भने, ‘कारखाना निर्माणका सबै प्रक्रिया सकेर सहकारी बजारको खोजीमा छ ।’
केह िवर्षअघिसम्म जिल्लामा ठूला चिया कारखाना मात्र सञ्चालन भएको अवस्थामा पछिल्लो सयम सहकारी र कृषक स्तरबाट उल्लेख्य चिया कारखाना खुलेका छन् । अहिले जिल्लामा साना–ठूला गरी एक सयभन्दा धेरै चिया कारखाना सञ्चालनमा छन् ।

कारखानाको क्षमता अनुसार उत्पादन क्षेत्र नबढ्नु, प्रतिस्पर्धा तीव्र हुनु र सीमापारि दार्जिलिङतर्फ हरियो चियापत्ती जान नरोकिनुजस्ता कारणले अधिकांश कारखानाले क्षमताअनुसार चियापत्ती पाउन छाडेका छन् । जिल्लाबाट वार्षिक ५५ लाख किलोको हाराहारीमा तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij