२०८३ साउन ९ शनिबार

पर्यटन दिवसमा व्यवसायी सम्मानित

ई आर्थिक    बिहिबार, असोज ११ २०७५
10.4K
Shares
पर्यटन दिवसमा व्यवसायी सम्मानित

काठमाडौँ, ११ असोज : विश्व पर्यटन दिवस पर्यटकको स्वागत, पर्यटकीय क्षेत्रमा सरसफाइ, प्रभातफेरी, सडक महोत्सव, खाद्य सामग्री प्रदर्शन, हाइकिङ, रक्तदान, सम्पदा पदयात्रा, साइकल ¥याली, सांस्कृतिक प्रस्तुतिलगायतका कार्यक्रम गरी आज यहाँ मनाइएको छ ।

‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ राजधानी सहित मुलुकका प्रमुख पर्यटकीय क्षेत्रमा मनाइएको सो कार्यक्रमका अवसरमा सरकार तथा निजी क्षेत्रका पर्यटकीय सङ्घ संस्थाको साझेदारीमा पर्यटनका नयाँ गन्तव्य तथा उत्पादन सार्वजनिक एवं पर्यटकका लागि विशेष छुट, अफरका प्याकेज घोषणा गरिएको छ ।

दिवसकै सन्दर्भमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको टर्किज एयरलाइन्सका पर्यटकलाई विशेष स्वागत गरिएको थियो ।
सो अबसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले पर्यटकीय प्याकेज घोषणा तथा सबैभन्दा बढी पर्यटक भित्र्याउने र बढी आयआर्जन गरी अर्थतन्त्रमा टेवा पु¥याउने कम्पनीलाई सम्मान गरेको थियो ।

सो अवसरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आर्थिक समृद्धिको मुख्य आधार नै पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि पूर्वाधार विकासलाई तीव्रता दिइएको उल्लेख गर्नुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धन तथा लगानी प्रोत्साहनलाई प्राथमिकता दिई पर्यटकको तथ्याङ्कलाई सही र व्यवस्थित गणनाको काम अघि बढाइएको बताउँदै उहाँले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन कुनै समस्या नहुने धारणा राख्नुभयो ।

पर्यटन वर्ष २०२० लोगो सार्वजनिक
काठमाडौँमा बिहीबार ३९औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित समारोहमा पर्यटन वर्ष सन २०२० को लोगो सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी, राज्यमन्त्री धनबहादुर बुढालगायत ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारीतालाई अझ फराकिलो बनाइनुपर्नेमा जोड दिनुभयो ।

डिजिटल ट्रान्सफरमेसनको लक्ष्यलाई मध्यनजर गरी बोर्डले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीबाहेकका नयाँ ‘इमर्जिन’ २० वटा गन्तव्यलाई ‘डिजिटली क्यापासिटी’ बढाउन अभिमुखीकरण कार्यक्रमको घोषणा गरेको छ । बोर्डले पहिलो पटक इनोभेटिव उद्यमीलाई पहिचान गरेर अगाडि बढाउनका लागि ‘टुरिजम उद्यमी सिट क्याम’ घोषणा गरेको छ । आगामी नोभेम्बरसम्म त्यस्ता उद्यमीको पहिचान गरी कार्यक्रम अघि बढाइनेछ ।

कार्यक्रममा पर्यटन मन्त्रालयले सरकारलाई धेरै कर तिर्ने संस्थाको रुपमा मन्त्रालयअन्तर्गतकै नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक मुद्रा आर्जन गर्ने संस्थाका रुपमा नेपाल वायु सेवा निगम र सबैभन्दा धेरै पर्यटक ल्याउने जेट एयरबेजलगायत संस्थालाई सम्मान गरेको थियो । ती सम्मान पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटादले प्रदान गर्नुभएको थियो ।

नयाँ पर्यटकीय गन्तव्य विस्तार गरेबापत नवलपरासीको सास्वतधाम, पर्यटकीय केन्द्र बनाएका तीन गाउँ क्रमशः रामेछापको दोरम्बा, लमजुङको राइनासकोट र राराको मुर्गालाई सम्मान गरियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अहिलेको अवस्थामा पर्यटनको भविष्य डिजिटल ट्रान्सफरमेसनसँग जोडिएकाले यसको क्षमता बढाउने अभियानमा लाग्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij