२०८३ साउन ९ शनिबार

पर्यटक आकर्षित गर्न करोडौँ लगानीमा पार्क बन्दै

ई आर्थिक    शुक्रबार, भाद्र २९ २०७५
6.1K
Shares
पर्यटक आकर्षित गर्न करोडौँ लगानीमा पार्क बन्दै
विष्णु घिमिरे, बाँके  । प्रदेश ५ सरकारले पर्यटक आकर्षित गर्न करोडौँ लगानी गरेर विभिन्न ठाउँमा पार्क निर्माण गर्ने भएको छ । पार्कहरू निर्माणका लागि प्रदेश सरकारले १० लाखदेखि दुई करोडसम्म बजेट विनियोजन गरेको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत १३ वटा पार्कलाई पर्यटन क्षेत्र शीर्षकमा बजेट विनियोजन गरेको छ । जसमध्ये आठवटाका लागि प्रतिपार्क दुई करोडका दरले १६ करोड बजेट विनियोजन गरेको छ ।

पार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कृषिको आधुनिकीकरणदेखि पर्यटन क्षेत्रको विकासलाई महत्व दिएर विकास योजना अगाडि बढाउने बताए । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पार्कहरू निर्माणका कार्यक्रमले पर्यटन आकर्षित गर्नुका अलवा वातावरणदेखि अन्य क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने बताए ।

जुलोजिकलदेखि बोटानिकल पार्क निर्माणका योजना
प्रदेश सरकारले रुपन्देहीमा रामापिथेकस जुलोजिकल पार्क निर्माणको योजना बनाएको छ । सो पार्क निर्माणका लागि दुई करोड बजेटको व्यवस्था गरेको छ । सोही क्षेत्रको विकासका लागि थप ३० लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै रुपन्देहीको वनबाटिकामा बोटानिकल गार्डेन पूर्वाधार विकासका लागि पनि २ करोड बजेट विनियोजन गरिएको छ । पाल्पामा रानीमहल इको पार्क निर्माणका लागि २० लाख र सहिद चुनमाया पार्कको गुरुयोजना बनाउन १० लाख वजेट व्यवस्था गरेको छ ।

प्रदेश सरकारले बाँकेमा मानसरोवरको प्रतीकात्मक स्थलसहित बोटानिकल गार्डेन बनाउने योजना बनाएको छ । यसका लागि दुई करोड बजेट विनियोजन गरिएकोे छ । बर्दियामा सतखलुवा तालछेउमा पार्क, पिकनिक स्पट र भ्यु टावर निर्माणको योजना बनाइएकोे छ । त्यसका लागि १० लाख बजेट विनियोजन गरिको छ ।

दाङमा करोडौँ लगानीमा सातवटा पार्क बन्दै
दाङमा करोडौँ लगानीमा पार्कहरू निर्माण गर्ने योजना छ । सातवटा पार्क निर्माणका लागि प्रतिपार्क दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । बहुउदेश्यीय बोटानिकल गार्डेन निर्माण घोराही, दंगीशरण थारू कल्चर भिलेज तथा पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक निर्माण, बाह्रकुने दहमा बहुउद्देश्य पार्क, बोटानिकल गार्डेन तुल्सीपुरका लागि दुई–दुई करोड विनियोजन गरेको छ । दाङमै बिजुवार क्षेत्रमा पार्क र पिकनिक स्पट निर्माणका लागि ५० लाख र श्रीकृष्ण मन्दिर धार्मिक वन क्षेत्र उद्यान निर्माणका लागि २० लाख बजेट छुट्याइएको छ ।

पर्यटन क्षेत्रको विकासमा ५७ करोड
प्रदेश ५ सरकारले पर्यटन शीर्षकमा ५७ करोड २५ लाख बजेट विनियोजन गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि पार्कहरू निर्माणका साथै विभिन्न धार्मिक स्थल, ऐतिहासिक स्थलको संरक्षण तथा विकासका लागि समेत बजेट विनियोजन गरिएको छ । बजेट कार्यान्वयन गर्ने इकाइ स्थापना भएसँगै कामले गति लिने मन्त्रीहरूको भनाइ छ ।

कार्यविधि निर्माणमा ढिलाइ
पार्क निर्माणका लागि बजेट विनियोजन गरे पनि कार्यविधि निर्माण भएको छैन । आवश्यक जनशक्ति नहुँदा कार्यविधि निर्माणमा ढिलाइ भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले कार्यविधि बनाएर कामलाई तीव्रता दिने तयारी रहेको बताए । कार्यविधिमा निर्माण प्रक्रिया मन्त्रालयमातहतका कार्यालयमार्फत गर्ने कि स्थानीय तहलाई नै जिम्मा दिने विषय टुंगो लाग्नेछ ।

नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij