तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ । गत १७ भदौदेखि स्थानीयवासीले फेरि काँधमा सिलिन्डर बोकेर डिलरसम्म पुग्नुपरेको छ ।
गौसदनमा स्थापना गरिएको प्लान्ट २ सय घनमिटरको हो । यहाँबाट निकालिएको ग्यास पाइपबाट स्थानीयलाई वितरण गर्न थालिएको थियो । सुरुसुरुमा त उपभोक्तालाई निकै सहज भयो । तर, आधिकारिक जानकारी नपाई ग्यास आउन बन्द भएपछि उनीहरू अलमलमा परे । सोधखोज गर्दै स्थानीय उपभोक्ता जागेश्वर यादव प्लान्ट पुगे । उनलाई भनियो– प्लान्ट स्तरोन्नति गरेर थप ४५ घरलाई पनि ग्यास बाँड्ने तयारी भइरहेकाले अहिले रोकिएको हो । तर, त्यो सत्य थिएन ।
‘ग्यासको सप्लाई किन रोकियो भनेर सोध्न जाँदा एकैचोटि ८० घरलाई नै दिने तयारी भइरहेकाले केही दिनका लागि रोकिएको भनेर जवाफ दिए,’ स्थानीय उपभोक्ता जागेश्वर यादवले भने, ‘पछि थाहा भयो, वितरण मेसिनमा समस्या आएकाले रोकिएको रहेछ ।’ मंगलबार नयाँ पत्रिकासँग कुरा गर्दै उनले प्लान्टको ग्यास नआएपछि १० दिनदेखि थन्क्याइएको सिलिन्डर निकालेर पुनः प्रयोग गर्न थालेको बताए ।
उपभोक्ता शोभाकान्त यादव र सीता दाहालले पनि थन्क्याएको सिलिन्डर निकालेका छन् । प्रधानमन्त्रीले प्लान्ट उद्घाटन गरेर गोबर ग्यास वितरण गरेपछि खुसी भएका उनीहरू महिनादिन नपुग्दै गुनासो गर्न बाध्य भएका छन् । दुवैले आपूर्ति रोकिएपछि पुनः एलपिजी सिलिन्डरकै ग्यास प्रयोग गर्न थालेको बताए ।
लामो समय टिकेन स्थानीयको खुसी
आफ्नै ठाउँमा उत्पादन गरेको गोबर ग्यास घरघरमा पाइपमार्फत आएपछि गद्गद् भएका उपभोक्ता दिगो व्यवस्थापन नभएसम्म गौशालाबाट आएको ग्यासमा भर पर्न नसकिने बताउन थालेका छन् ।
उपभोक्ता जागेश्वर यादवका अनुसार गोबर प्लान्टको ग्यास सिलिन्डरको ग्यासभन्दा बढी उपयोगी थियो । तर, दिगो हुँदैन कि भन्ने आशंका बढेपछि उनको मन डगमगाएको छ । उद्घाटन गर्ने हतारोले दिगो व्यवस्थापनविनै ग्यास वितरण थालिएकाले अहिले समस्या आएको अधिकांश उपभोक्ता बताउँछन् ।
यसरी भएको थियो उद्घाटन
विश्व बैंकको सहयोगमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विराटनगर महानगरपालिका र जिल्ला समन्वय समितिसमेतको १ करोड १० लाख लगानीमा प्लान्ट निर्माण भएको हो । प्रधानमन्त्री केपी ओलीले गत ५ भदौमा प्लान्ट उद्घाटन गरेका थिए । प्रधानमन्त्रीको टोलीमा मन्त्रीदेखि सरकारी ठूला अधिकारीको लस्कर र कार्यक्रमको तामझाम हेर्नलायक थियो ।
स्थानीय श्रीकृष्ण गौसेवा सदनले आयोजना गरेको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिलिन्डरका डल्ला फ्याँक्ने सपना साकार हुन्छ भनेर प्रमाणित भएको बताएका थिए । पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले पाइपबाट घरघरमा ग्यास पुर्याउने दिन आउने बताउँदा खिसी गरिएको स्मरण गराउँदै प्रधानमन्त्रीले अब त्यो दिन आएको बताएका थिए ।
विराटनगरका ३२ घरले आफैँले उत्पादन गरेको ग्यास प्रयोग गरेर सिलिन्डरका डल्ला फयाँक्ने सपना साकार हुन्छ भन्ने प्रमाणित गरेको प्रधानमन्त्रीको दाबी थियो । सरकारले देशभरबाट आफ्नै ग्यास उत्पादन गरेर घरघरमा पुर्याउने र आयातीत सिलिन्डर विस्थापित गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
ऊर्जामन्त्री वर्षमान पुनले पनि बर्सेनि अबौँको ग्यास आयातलाई प्रतिस्थापन गरेर आफ्नै ग्यास प्रयोग गर्ने प्रधानमन्त्रीको सपना साकार पार्न आफूहरू लागिपरेको धारणा व्यक्त गरेका थिए ।
बिग्रिएको होइन, आपूर्ति रोकेको मात्र हो
श्रीकृष्ण गौशाला समिति अध्यक्ष शंकरलाल अग्रवालले ग्यास प्लान्टलाई दिगो रूपमा सञ्चालन गर्न आपूर्ति बन्द गरेको बताए । उनले ८० घरलाई वितरण गर्ने क्षमता प्लान्टसँग रहेको भन्दै थप घरमा पनि पाइप जडान गरेर एकैचोटि आपूर्ति सुचारु गर्ने दाबी गरे ।
‘प्लान्ट बिग्रिएको र बन्द भएको होइन, केही समस्या देखिएकाले दिगो रूपले सबै घरमा एकैचोटि विस्तार गर्न आपूर्ति रोकका हौँ,’ उनले भने । अध्यक्ष अग्रवालले थप घरमा विस्तार गर्न आपूर्ति रोकेको भने पनि वास्तविकता भने फरक छ । थप घरमा ग्यास पुर्याउन पाइप विस्तार गर्ने कार्य सुचारु भएकै छैन । प्लान्टको वितरण प्रणालीमै समस्या देखिएकाले रोकिएको स्थानीयको पनि भनाइ छ ।
किन रोकियो ग्यास आपूर्ति ?
स्थानीयका अनुसार परीक्षण सफल भएपछि अन्य व्यवस्थापनको कामभन्दा उद्घाटन गरेर जस लिन प्लान्ट सञ्चालकहरू हौसिँदा यो समस्या आएको हो । ५ भदौमा उद्घाटन भएको प्लान्टमा जडान गरिएको कम्प्रेसर मेसिनले १२ दिनपछि अर्थात् १७ भदौदेखि सही ढंगले काम गर्न सकेन । त्यसैले गौशालाले सिड कन्सलटेन्ट इन्जिनियरिङ प्रालि दिल्लीबाट मेसिन विक्रेता कम्पनीका इन्जिनियर झिकाएर अहिले मेसिन चेकजाँच गरिरहेको छ ।
तर, इन्जिनियरले देखाए बिजुलीलाई दोष
इन्जिनियर सुमित कुमारले भने मेसिनमा खराबी नभई विद्युत् आपूर्तिमा समस्या हुँदा आपूर्ति रोकिएको जनाएका छन् । बिजुलीको भरपर्दो व्यवस्था भए तत्कालै ग्यास वितरण गर्न सकिने उनले बताए । उनले भने, ‘खराबी केही छैन । इलेक्ट्रिक समस्या मात्र हो । भरपर्दो नियमित बिजुलीको व्यवस्था हुनासाथ आपूर्ति पुनः सुरु भइहाल्छ ।’
इन्जिनियरका कुरासँग प्लान्ट रेखदेखमा खटिएका स्थानीय मोहीचन्द्र यादव पनि सहमत छन् । बिजुली नियमित नभएको र आफ्नै जेनेरेटरसमेत नभएकाले समस्या देखिएको उनले बताए । जिल्ला समन्वय समितिले जेनेरेटर दिने भने पनि आइनसकेकाले समस्या भएको उनले जानकारी दिए ।