काठमाडौँ, ७ भदौ : प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा जिज्ञासा राख्नुभएको थियो । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिनुभयो ।
आजै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले “जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले अभिसन्धिका प्रावधान आनुवंशिक स्रोतका सम्बन्धमा परम्परागत ज्ञानको उपयोगबाट लाभान्वित हुने विषयसँग सम्बन्धित भएको बताउनुभयो । उहाँले अभिसन्धिमा प्राकृतिक स्रोत संरक्षणमा संलग्न स्थानीय समुदायका ज्ञान र सीपको उपयोगका साथै उनीहरुलाई लाभ पुग्ने प्रावधानसमेत रहेको जानकारी गराउनुभयो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै देवप्रसाद गुरुङ र सुवालले अभिसन्धिका प्रावधानका बारेमा जिज्ञासा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ८ गते बिहान ११ बजे बस्नेछ ।
कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्ने ढङ्गबाट कर बढाएको भनी सरकारको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले स्थानीयस्तरबाट जथाभावी कर लगाउनाले आम जनता मारमा परिरहेका छन्, यस विषयमा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।”
नेकपा (नेकपा)का सांसद सूर्य पाठकले वर्तमान सरकारले उचित वैदेशिक नीति, सङ्घीयता कार्यान्वयन र सुशासन स्थापनाका लागि सराहनीय काम गरिरहेको धारणा व्यक्त गर्नुभयो । चीन र भारतसँग पनि समानताका आधारमा वैदेशिक नीति स्थापित गराएको बताउँदै उहाँले भन्नुभयो, “वर्तमान सरकार गठनपछि नेपालले चीन र भारतबीच सन्तुलित सम्बन्ध राख्ने गरी बढाएको नीतिको चौतर्फीरुपमा स्वागत भएको छ, स्थानीय तहले लिएको करबारे प्रतिपक्षले अनावश्यकरुपमा हल्ला मचाउने मात्र काम गरेको छ ।”
सांसद दीपकप्रकाश भट्टले कञ्चनपुरमा भएको बलात्कारमा संलग्न दोषीलाई छानबिनका आधारमा दोषी ठह¥याउनुपर्नेमा आन्दोलनको भरमा दोषी खडा गर्ने प्रयास भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मोहन आचार्यले रसुवाको विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउँदै पीडितलाई राहतका लागि व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद अमृता अग्रहरिले सरकारले मधेश र मधेशीप्रति विभेद गरेको जनाउँदै जनताबाट निर्वाचित भएका रेशम चौधरीलाई कुन ऐनका आधारमा प्रमाणपत्र नदिएको हो भनी प्रश्न गर्नुभयो ।
सांसद सरिता गिरीले धनुषा जिल्लाको ढल्केवरदेखि सुनसरीको इटहरीसम्म विद्युत् प्रसारण लाइन विस्तार गर्दा लहान नगरपालिकास्थित कडरिया गाउँमा अहिले विवाद उत्पन्न हुँदा काम अगाडि बढ्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्युत् पोल गाड्दा पहाडी भेगको छेउछाउबाट लैजानुपर्ने भन्ने व्यवस्था गर्न माग गर्नुभयो ।