२०८३ साउन १२ मंगलबार

पाँचताराको सम्मान बखान सहकारीका कृष्णमान गुरुङलाई

ई आर्थिक    आइतबार, बैशाख २ २०७५
10.1K
Shares
पाँचताराको सम्मान बखान सहकारीका कृष्णमान गुरुङलाई

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कृष्णमान गुरुङलाई पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७५ बाट सम्मानित गरेको छ । बखान सहकारी संस्थाका संस्थापक सञ्चालक गुरुङलाई मुलुककै पहिलो सहकारी संस्थामा सञ्चालक रहेर हालसम्म पनि अभियानमा क्रियाशील रहेको भन्दै उक्त सम्मान प्रदान गरेको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा सांसद माधवकुमार नेपालले नगद १० हजार एकसय एकाउन्न र ताम्रपत्रले गुरुङलाई सम्मानित गरेका थिए । प्रमुख अतिथि नेपालले मुलुकको समृद्धिका लागि सहकारी अपरिहार्य भएको र सहकारीलाई उत्पादनसँग जोड्न सके मुलुकले छिट्टै आर्थिक फड्को मार्न सक्ने बताए ।

सहकारी विभागका पूर्वरजिष्ट्रार सुदर्शनप्रसाद ढकालले जनताले रुचाएको व्यवसायिक पद्धति सहकारी भएको उल्लेख गरे ।
नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले पाँचताराले गरेको हरेक क्रियाकलापको प्रशंशा गर्दै सहकारी अभियानमा छुट्टै पहिचान बनाउन सकेको बताए । सहकारीको संख्या धेरै हुँदैमा सदस्यको आर्थिक सामाजिक रुपान्तरण हुन नसक्ने बताउँदै उनले सहकारीहरुबीच एकिकरणमार्फत ठूलो र सबल संस्था बन्नुपर्ने बताए ।

कार्यक्रममा सहकारी विकास बोर्डका पूर्वसहअध्यक्ष सरोजकुमार शर्मा, सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकाल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, बचत संघ काठमाडौंका अध्यक्ष केशव प्रसाद दंगाल, बिन्धवासिनी साकोसका
पूर्वअध्यक्ष भरत शर्मा, नेफ्स्कुनकी पूर्वमहासचिव पम्फा राई र पूर्वराज्यमन्त्री सूर्यमान दोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

कार्यक्रममा नयाँ वर्षको क्यालेण्डर र पाँचतारा दशौं स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष भोलानाथ पाठकले सहकारी अभियानमा नयाँ आयाम थप्दै, समुदाय र सदस्यलाई केन्द्रविन्दुमा राखेर संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

२०६४ सालमा संस्था स्थापना भएको र २०६५ सालबाट सहकारी क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई वार्षिक रुपमा पाँचतारा व्यक्तित्व सम्मानबाट सम्मानित गर्दै आएको उनले बताए ।

संस्थाका सञ्चालक, शेयरसदस्य र कर्मचारीहरुको संयुक्त प्रयासबाट छोटो अवधिमा संस्थाले उल्लेख्य प्रगति गर्न सकेको उनको भनाई छ ।
आफ्नै आधुनिक भवनमा रहेर सदस्यहरुलाई आधुनिक सेवा प्रदान गर्दै आएको संस्था पुरानो सिनामंगल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij