दमास्कसमा संयुक्त मिसाइल आक्रमण
अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको छ ।
सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन् भने रसिया र इरान राष्ट्रपति बसर असदको पक्षमा छन् । आक्रमणले सिरियाको रासायनिक ठेगाना ध्वंस भएको अमेरिकी दाबी छ ।
अमेरिकी गठबन्धनले प्रहार गरेका १०३ मध्ये ७१ क्षेप्यास्त्र सिरियाली सेनाले खसालेको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।
सिरियामा कति भयो क्षति ?
आक्रमण शनिबार बिहानबाट सुरु भएको थियो । राजधानी सहर दमास्कस र होम्सवरपरका क्षेत्रहरूमा विस्फोटका ठूला आवाज सुनिएको र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो क्षति भएको अनुमान छ । आक्रमणमा सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालयवरपरका क्षेत्रलाई लक्ष्य बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हमलामा कम्तीमा तीन स्थानलाई निसाना बनाइएको जानकारी दिएका छन् । शनिबार दमास्कसको मुख्य चोकमा सर्वसाधारण भेला भएर राष्ट्रपतिको समर्थनमा नारा लगाएका थिए ।
उता, रसियाको आग्रहमा सुरक्षा परिषद् स्थायी समितिको आपत्कालीन बैठक बसेको छ । बैठकमा रसियाले आक्रमणको निन्दा गर्नुपर्ने प्रस्ताव राखेको छ भने अमेरिकाले भने सिरियाले आक्रमण आफै निम्त्याएको टिप्पणी गरेको छ ।
पक्ष
मिसन सानदार रूपमा पूरा

गत रातिको हमला असाधारण रूपमा सम्पन्न भएको छ । असाधारण विवेक र सैनिक शक्तिका लागि संयुक्त अधिराज्य बेलायत र फ्रान्सलाई धेरैधेरै धन्यवाद । विकल्प योभन्दा अर्को थिएन । मिसन सानदार रूपमा सफल भएको छ ।
बेलायतको साझेदारी
बेलायतकी प्रधानमन्त्री थेरेसा मेले सिरियामा सेना परिचालनको विकल्प नभएको भन्दै कारबाहीमा बेलायत संलग्न भएको पुष्टि गरेकी छिन् । सो कारबाही सिरियामा ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारेकी छिन् । हमलाले सिरियाली नागरिकलाई रासायनिक अस्त्रहरूबाट जोगाउने दाबी प्रधानमन्त्री मेले गरिन् ।
इजरायलले गर्यो स्वागत
हमलाको इजरायलले स्वागत गरेको छ । ‘सिरिया घातक गतिविधिमा संलग्न भइरहेकाले उसमाथिको आक्रमण अपरिहार्य थियो, यो हमलाको हामी स्वागत गर्छौँ । सिरियाली सत्तालाई ठेगान लगाउने उपाय यही हो,’ इजरायली विदेश मन्त्रालयको विज्ञप्ति ।
विपक्ष
परिणाम भोग्नुपर्नेछ

पूर्वनिर्धारित योजनाअनुसार हमला भएको छ । यसको परिणाम सम्बन्धित सबैले नभोगी सुख हुनेछैन । अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनविपरीत सिरियामा आक्रमण भएको छ । हामी राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकको माग गर्दछौँ ।
चीनद्वारा हमलाको विरोध
चिनियाँ विदेश मन्त्रालयले भनेको छ–अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोगको चीनले विरोध गर्दै आएको छ । हामी कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको स्मरण गराउन चाहन्छौँ । बल प्रयोगले समस्या समाधान गर्नेछैन, कानुनको दायरामा फर्किन सबैलाई आग्रह गर्दछु ।
इरानले गर्यो विरोध
म खुला रूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्र«पति र बेलायतका प्रधानमन्त्री अपराधी हुन्, यो अपराध तत्काल रोक्न दबाब दिनका लागि मुस्लिम देश र विश्व एकजुट हुनुपर्छ : इरानका सर्वोच्च नेता आयातोल्ला खमेनी । नयाँ पत्रिकाबाट
कति शक्तिशाली छ अमेरिकाले सिरियामा हानेको टमहक मिसाइल
एजेन्सी: अमेरिकाले सिरियामाथि एक पटक फेरि हमला गरेको छ । यस पटक अमेरिकाले आफ्नो सबैभन्दा शक्तिशाली टम हक मिसाइल हानिएको छ ।
टम हक मिसाइल अमेरिकी सेनाकव सबैभन्दा शक्तिशाली र अचुक मिसाइल हो । जसको अमेरिकाले विगत २० वर्षदेखि प्रयोग गर्दै आएको छ ।अमेरिकाले एक निश्चित र सुरक्षित दुरीबाट अचुक हमला गर्नुपर्यो भने टम हक मिसाइल प्रयोग गर्दै आएको छ ।
सिरियामा चरमपन्थी संगठनको ठेगानामा अमेरिकाले पहिले पनि हवाई हमला गरिसकेको छ । सन् २०१७ मा पहिलो पटक अमेरिकाले सिरियामाथि सीधै कारबाही थालेको थियो । यो हमले सिरियाली सरकारविरुद्ध गरिएको थियो । सिरियामा सन् २०११ देखि युद्ध भइरहेको छ ।
अचूक निशाना, लामो दुरी
तपाईँलाई लाग्न सक्छ, आखिर के हो त टम हक मिसाइल ? यसमा त्यस्तो के छ र अमेरिका ठुला युद्धमा यही हतियारमा निर्भर रहन्छ ?
छ मिटर लामो, करिब डेढ हज़ार किलो तौलवाला यो मिसाइल लामो दूरीसम्म क्षति गर्न सक्षम छ । यी मिसाइलमा ४५४ किलोग्राम विस्फोटक हालिएको हुन्छ ।
टमहक मिसाइल ८८५ किलोमीटर प्रतिघण्टाको गतिमा १६०० किलोमिटरको दुरीमा रहेको आफ्नो निशानालाई सजिलै तहसनहस गर्न सक्छ । रेदियन कम्पनीका अनुसार टम हक विश्वकै सबैभन्दा अत्याधुनिक क्रुज मिसाइल हो ।
खाडी युद्धको समयदेखि
यो मिसाइल जीपीएस प्रविधिमा काम गर्छ । टम हक मिसाइल पनि चुक्न सक्छ । तर यो मिसाइल निशाना भन्दा १० मिटर भन्दा धेरै टाढा भने जाँदैन ।
अमेरिकाको रेदियन कम्पनी टम हक मिसाइलको निर्माण गर्छ । कम्पनीका अनुसार टम हक विश्वकै सबैभन्दा अत्याधुनिक क्रुज मिसाइल हो ।
समाचार अनुसार टम हक मिसाइलको निर्माण दुई हजार भन्दा धेरै पटक प्रयोग भइसकेको छ । यो मिसाइलको ५०० भन्दा धेरै पटक परीक्षण भइसकेको छ।
टम हक मिसाइलको लामो इतिहास पनि छ । ९० को दशकमा खाड़ी युद्धको समयदेखि टम हक मिसाइल अमेरिकी हतियारमा सबैभन्दा अहम बन्दै गएको छ ।
त्यो बेला अमेरिकाको नेतृत्वमा पश्चिमी देशको गठबन्धनमा इराकमाथि सैन्य कारबाही गरिएको थियो । त्यो बेला अपरेशन डेजर्ट स्टर्म चलाइएको थियो । अमेरिकाले पहिलो पटक टम हक मिसाइलको प्रयोग खाडी युद्धको समयमा अपरेशन डेजर्ट स्टर्ममा गरेको थियो ।
गद्दाफीविरुद्ध
केवल इराक मात्रै होइन लिबियामा पनि टम हक मिसाइल प्रयोग भइसकेको छ । सन् २०११ मा जब कर्नेल गद्दाफीविरुद्ध नेटो देशले कारबाही चलाएको थियो त्यो बेला टम हक मिसाइललाई उत्कृष्ट मानिएको थियो ।
अमेरिकाले टम हक मिसाइलको प्रयोग सन् २०१४ मा आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनविरुद्ध प्रयोग गरेको थियो ।
आईएसविरुद्ध यो हमला सिरियामा गरिएको थियो । त्यस बेला फारसको खाडी र लाल सागरमा रहेका दुई जहाजबाट ४७ टम हक मिसाइल हानिएको थियो ।
लिबिया र सिरियापछि यमनमा तीन रडार ठेगाना नष्ट गर्नका लागि टम हक मिसाइल प्रयोग गरिएको थियो । सन् २०१७ मा पूर्वी भूमध्यसागरमा रहेका दुई युद्धक जहाजबाट अमेरिकाले सिरियाको एक एयरबेसमा ५९ टम हक मिसाइल हानेको थियो ।















