पौडेलपक्षका १४ जना दोस्रो तहका नेताले सोमबार पनि भेला गर्दै छिटो केन्द्रीय समितिको बैठक डाकेर चुनावमा बेहोरेको हार, टिकटमा भएको अनियमितताबारे छानबिन गर्नुपर्ने सहितका विषय उठाएका छन् । आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्नुपर्ने अवधारणापत्र तयार गर्न उनीहरूले छलफल गरेका हुन् । सोमबार नै सात युवा नेताले पनि बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । युवा नेताले पनि औपचारिक-अनौपचारिक छलफललाई निरन्तरता दिइरहेका छन् ।
युवा नेतालाई पनि बदलिन सुझाब
कांग्रेसमा भेलाहरू निरन्तर भइरहँदा युवा नेताहरूले सोमबार बुद्धिजीवीसँग भेला गरेका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, बद्री पाण्डे सहितका युवा नेताले सोमबार पार्टी सुधारका लागि बुद्धिजीवीसँग छलफल गरेका हुन् । सात नेताले केही दिनअघि निर्वाचनमा पार्टी हारको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक डाक्न माग गरेका थिए । यसै प्रयासस्वरूप अलग–अलग गुटमा रहे पनि उनीहरूले पार्टी सुधारको बहस चलाउँदै भेला गरेको युवा नेता घिमिरेले जानकारी दिए ।
‘सरकारमा गएपछि कांग्रेसले राम्रा काम गर्न सकेन । जनताको जीवनमा परिवर्तन गर्ने कार्यक्रम ल्याउन पार्टी चुक्यो । केही विकास भए पनि सरकारले दिनुपर्ने सेवामा कमजोरी भएको विषय बुद्धिजीवीहरूले उठाउनुभयो,’ छलफलमा सहभागी घिमिरेले नयाँ पत्रिकासित भने ।
नेतृत्वले जनतासँग सम्पर्क नगरेको, निर्वाचनमा आफूले गरेको राम्रो कामको प्रचार गर्न नसकेको, विपक्षीको भ्रम चिर्न नसकेको जस्ता पक्षले कांग्रेस कमजोर भएको उनीहरूले खुलाएका थिए ।
पार्टीले नयाँ पुस्तालाई भरोसा गर्न नसकेको भन्दै उनीहरूले युवा नेताहरू नै सुध्रिनुपर्ने बताएका थिए । ‘५०औँ लाख युवा बिदेसिँदा पनि पार्टीले भरोसा दिलाउने गरी कार्यक्रम ल्याउन र सहजीकरण गर्न पहल गरेन । युवा नेता पनि गुटकै पछि लागेका छन् भन्ने कुरा उहाँहरूले उठाउनुभयो,’ घिमिरेले भने, ‘अवसरका लागि मूल्यमान्यता छोडेर युवाहरू लाग्न नहुने, पहिले आफू बदलिए मात्र पार्टीलाई खबरदारी गर्न सकिने सुझाब बुद्धिजीवीले युवा नेतालाई दिएका छन् ।’ सोमबारको भेलामा युवा नेताहरू जीवन परियार र उमेशजंग रायमाझी पनि थपिएका थिए ।
सोमबारको भेलामा हीरेन्द्रमान प्रधान, डा. जीवराज पोख्रेल, डा. यज्ञ अधिकारी, पुरञ्जन आचार्य, पुरुषोत्तम दाहाल, होमनाथ दाहाल, जैनेन्द्र जीवन, डा. केदारनरसिंह केसी, मोहन ज्ञवाली, श्रीकृष्णअनिरुद्ध गौतम, अच्युत वाग्ले, डा. जुगल भुर्तेल, डा. विनय कुशियत, डा. अञ्जनीकुमार झा, सुनील पोखरेल, गुणनिधि न्यौपाने सहितका बुद्धिजीवी सहभागी थिए ।
के भयो पौडेल पक्षीय भेलामा ?

अवसर दिन माग
केन्द्रीय सदस्य भएर पनि अहिलेसम्म अवसर नपाएका सुरेन्द्र पाण्डे, गुरु घिमिरे र कल्याण गुरुङलाई तत्काल पार्टीमा अवसर दिनुपर्ने, समानुपातिकमा परेका, प्रत्यक्ष चुनाव लडेर हारेकालाई पाँच वर्षसम्म चुनाव लड्न दिन नहुने विषय नेताहरूले उठाएका छन् ।
विधान मिच्नेलाई कारबाही
नेताहरूले विधानअनुरूप पार्टी नचल्नुमा को दोषी हुने भन्दै छानबिन गरी सजाय दिने संयन्त्र बनाउन पनि माग गरेका छन् । ठूलो मन्त्रिपरिषद् बनाएर पार्टी बदनाम हुँदा पनि कांग्रेसको चुनाव परिणाममा घाटा पुगेको विषय पनि उनीहरूले उठाएका हुन् ।
युवा पुस्तामा नयाँ ऊर्जा आवश्यक रहेको भन्दै नेताहरूले युवा नेतृत्वको बहस पनि भित्र्याएका छन् । अब नेतृत्व परिवर्तन भएर युवा पुस्तामा आउनुपर्ने, भ्रातृसंस्थाहरूको भूमिकालाई प्रभावकारी बनाउँदै पुनर्गठन गर्नुपर्ने विषय पनि उनीहरूले उठाएका छन् ।
संरचना बदल्न माग
देश संघीयतामा गए पनि पार्टी संघीय संरचनामा नगएको भन्दै नेताहरूले पार्टीको संरचना बदल्ने गरी छिटो विधान संशोधनको विषयलाई अघि बढाउन पनि माग गरेका छन् ।
यस्तो पनि माग
पौडेलपक्षका नेताहरूले पैसामा समानुपातिक र प्रत्यक्षतर्फको टिकट खरिद–बिक्री भएको भन्दै दोषी पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठनको माग गरेका छन् । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले वितरण गरेको टिकट किनबेच भयो भन्ने विषय उठेका छन्,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘यसकारण पूर्वन्यायाधीशको संयोजकत्वमा एउटा निष्पक्ष र स्वतन्त्र, न्यायिक छानबिन समिति गठन गरी छानबिन गर्न माग गरेका छौँ ।’ पैसामा पद बिक्री गर्ने नेताहरूको आर्थिक हैसियत रातारात बढ्ने हुँदा पार्टीभित्र छानबिन आवश्यक भएको ती नेताले बताए ।
‘शेरबहादुरले छोडे म पनि छोड्छु’

नेता रामचन्द्र पौडेलले सभापतिले छोडिदिए आफू पनि पार्टीमा संरक्षक भएर बस्न तयार रहेको बताएका छन् । आफूपक्षधर नेताको भेलामा पौडेलले सोमबार भने, ‘शेरबहादुरजी माने भने म पनि पार्टीमा पद लिएर बसिरहने पक्षमा छैन । शेरबहादुरजी दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्न तयार भए म पनि तयार छु, संरक्षक भएर पार्टीमा योगदान गर्छु ।’ नयाँ पत्रिकाबाट