भारतीय सेनाको सहयोगमा भारतीय सेनामा भर्ना हुन शारीरिक स्वास्थ्य परीक्षण पास गरेकाहरूको कागजपत्र जाँच गर्ने जिम्मा लिएका नेपाली सेनाका पूर्व हवल्दार गंगा देवानसँग पैसा असुल्न अपहरण शैलीमा नियन्त्रणमा लिई असम्बन्धित स्थानमा बन्धक बनाएर पाँच लाख असुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी नवीनकिशोर भट्टराईसहित चार प्रहरी र एक ढुंगाखानी सञ्चालक अख्तियारको हिरासतमा पुगेका हुन् ।
अख्तियारले असई चन्द्रसिह भाट, सानो ठिमीको बालसुधार गृहमा कार्यरत प्रहरी जवान पुष्कर शाह र फर्पिङ प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान मनोज यादव र ढुंगाखानी सञ्चालक विनोद थापालाई एक सातादेखि हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
स्रोतका अनुसार भारतीय सेनामा भर्ना गराइदिन्छु भन्दै देवानले पैसा उठाउने गरेको सूचनाको आधारमा बालाजु वृत्तका असई भाट सहितको टोलीले महाराजगन्जमा रहेको देवानको डेरामा छापा मारेर नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिनु अगाडि ढुंगाखानी सञ्चालक थापाले देवानलाई भारतीय सेनामा भर्ना गराइदिने भन्दै एक युवाको नाममा एक लाख रुपैयाँ दिएर चार लाखको वैदेशिक रोजगारको कागज गराएका थिए ।
अनुसन्धान स्रोतका अनुसार सोही कागजलाई आधार बनाएर महानगरीय प्रहरी वृत्त महाराजगन्जलाई जानकारी नै नदिई बालाजुको टोलीले देवानलाई नियन्त्रणमा लिएर महाराजगन्जमै रहेको थापाको कार्यालयमा लगेर बन्धक बनाएका थिए ।
सो टोलीले देवानको श्रीमतीलाई फोन गरेर ‘२५ लाख नदिए गोली हान्छु’ भन्दै धम्क्याएपछि उनले श्रीमान् खोज्ने क्रममा थापाको कार्यालयमा पुगेपछि उनीहरूले देवान र उनको श्रीमतीलाई समेत नियन्त्रणमा लिएर बालाजु वृत्त पुर्याएका थिए ।
वृत्तमा लगेर ‘केस मिलाउन १० लाख चाहिने र तत्काल पाँच लाख दिनुपर्ने’ माग प्रहरीले राखेपछि सो घटना अख्तियारमा आइपुगेपछि अख्तियारमा रहेको डिएसपीको टोलीले प्रहरी टोलीले पैसा असुलेको घटनाको स्टिङ अपरेसन गरेको थियो ।
अपरेसनका क्रममा भाटसहित चार जनाले देवानकी श्रीमतीसँग पाँच लाख रुपैयाँ लिएपछि अख्तियारको टोलीले भाटलाई पक्राउ ग¥यो भने अन्य फरार भए । घटनामा अन्य तीन जनाको समेत संलग्नता खुलेपछि प्रहरीले थापासहित चारै जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
बयानमा पक्राउ परेका तीन प्रहरी र ढुंगाखानी सञ्चालक थापाले यो लेनदेनको घटना भएको दाबी गर्दै यसबारे वृत्तका डिएसपीलाई समेत जानकारी रहेको बयानमा पोलेपछि अख्तियारले डिएसपी भट्टराईलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
अनुसन्धान स्रोतका अनुसार प्रत्यक्ष पाँच लाख रुपैयाँ लिएको बाहेक देवानको श्रीमतीको एटिएम प्रयोग गरेर पुष्कर शाहले पैसा निकालेको पुष्टी भएको छ ।
पक्राउ प्रहरीले सो घटना लेनदेनको विषय रहेको दाबी गरेपछि अख्तियारले पीडित खोज्दा एक जना मात्र देखिएका छन् । अनुसन्धानमा उनी देवानलाई ब्ल्याकमेलिङ गर्न बनाइएको ‘डमी’ रहेको खुलेको अख्तियारस्रोतले बतायो । नागरिकबाट