२०८३ साउन १२ मंगलबार

जनप्रतिनिधि नै मानव तस्करीमा : गैरकानूनी माध्यमबाट कुबेत पठाएकी बिस्मिता विदेशमा यातना भोग्दै

ई आर्थिक    मंगलबार, भाद्र २७ २०७४
2.9K
Shares
जनप्रतिनिधि नै मानव तस्करीमा : गैरकानूनी माध्यमबाट कुबेत पठाएकी बिस्मिता विदेशमा यातना भोग्दै

२७ भदौ, काँकडभिट्टा (झापा) । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।

कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् ।

मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पु¥याएको थियो ।

गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुबेत पठाएकी हुन् । मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिई कुबेत पु¥याएर बिस्मितालाई घरेलु कामदारका रुपमा बेचेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।

नौ महिनाअघि कुबेत पु¥याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुबेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहेकी छन् ।

कुबेतमा बन्दी जस्तै अवस्थामा रहेकी बिस्मिता दर्जीको उद्धार गरी पाऊँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदनसमेत दिनुभएको छ ।

रासससँगको टेलिफोन कुराकानीमा बिस्मिताले आफूले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा रुँदैरुँदै सुनाएकी छन् ।

“तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”, कुबेतमा दर्दनाक पीडा भोगिरहेकी बिस्मिताले भनेकी छन्, “सबै लागेर मलाई उद्धार गरिदिनुप¥यो, मलाई बचाइदिनुहोस् ।”

आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग रु एक लाख ५० हजार उल्टै मागेको उनका बुबा राजकुमारले बताउनुभयो ।

उहाँले न्यायका लागि नगरपालिकामा निवेदन दिएको बताउनुभयो । “रु एकलाख ५० हजार देऊ, कि तीनजना विदेश पठाउने महिला खोजिदेऊ, अन्यथा मबाट केही हुँदैन, जे गर्नुछ गर भन्नुभयो मीना बहिनीले”, राजकुमारले भन्नुभयो, “त्यही भएर न्यायका लागि निवेदन दिएको हुँ ।”

बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन सञ्चार माध्यममार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवाला र स्थानीय निकायसँग अपिल गर्नुभएको छ ।

बिस्मिताका पति दासले पत्नीमाथि चरम शारीरिक र मानसिक यातना भएको बताउँदै भन्नुभयो, “उनको ज्यान जोखिममा छ, उद्धारका लागि सहयोग गरिदिनुस् ।”

उहाँले जनप्रतिनिधि जस्तो मान्छेबाट यसरी ठगिनु दुःखद भएको बताउँदै भन्नुभयो, “तत्काल अपराधीलाई कारबाही र पीडितलाई न्याय होस् ।”

मानव बेचबिखनसम्बन्धी आरोप लागेकी मीना कामीले बिस्मिताको परिवारका सदस्यले आफूसँग रिहाइका लागि भन्न नआएको दाबी गरिन् । उनले आफूले बिस्मितालाई गैरकानूनीरुपमा कुबेत पठाएको स्वीकार गर्दै भनिन्, “उनले यातना पाएको कुरा झुठा हो, मसँग उनको कुरा भइरहेको छ ।”

मीनाले कुबेत पठाउँदा खर्च भएको रु एक लाख ७५ हजार नतिरेको हुँदा त्यही रकममात्र आफूले मागेको बताइन् । उनले जाँदा लागेको पैसा तिरे बिस्मितालाई दशैँपछि फिर्ता ल्याइदिने बताएकी छन् ।

“भन्नेबित्तिकै ल्याउन सक्दिन”, रासससँग मीना भन्छिन्, “म राष्ट्रपति होइन, जतिखेर भन्यो त्यतिखेर ल्याउन सक्ने ।” उनले आफूलाई थुनेर बिस्मितालाई ल्याउन सकिन्छ भने थुने पनि फरक नपर्ने उनले बताइन् ।

अधिवक्ता दीपेन्द्र भट्टराईले गैरकानूनी बाटो प्रयोग गरेर वैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा लाग्ने बताउनुभयो ।

अधिवक्ता भट्टराईले यस्ता प्रवृत्तिका मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने बताउनुभयो । उहाँले बेचबिखन गरेकै ठहरिए पीडकलाई २० वर्षको जेल सजाय र क्षतिपूर्तिसमेत कानूनमा व्यवस्था भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij