२०८३ साउन ९ शनिबार

सञ्चय कोषबाट तीन अर्ब १८ करोड ऋण प्रवाह

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
3.7K
Shares
सञ्चय कोषबाट तीन अर्ब १८ करोड ऋण प्रवाह

१७ साउन, विराटनगर । कर्मचारी सञ्चय कोष विराटनगरले आव २०७३-७४ मा रु तीन अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ ।

सो कार्यालयले आव २०७२-७३ मा रु दुई अर्ब ६५ करोड ऋण प्रवाह गरेको थियो ।

सो शाखाले आव २०७३÷७४ मा २२ हजार ४९३ सञ्चयकर्तालाई रु दुई अर्ब ५० करोड विशेष सापटी गरेको छ । चार सय ५४ सञ्चयकर्तालाई रु ६४ करोड घरसापटीबापत र २६ सञ्चयकर्तालाई रु तीन करोड ७१ लाख शैक्षिक सापट प्रवाह गरेको कार्यालय प्रमुख शन्त गौतमले जानकारी दिनुभयो ।

कार्यालयले मोरङ, सुनसरी र झापाका सहरी इलाकामा घर निर्माण गर्न, घर खरिद गर्न र घर मर्मत गर्न सञ्चयकर्तालाई घरसापटी दिने गरेको छ । सञ्चयकर्तालाई आफू वा आफ्नो परिवारका श्रीमान्, श्रीमती र छोराछोरीको उच्चशिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराएको छ ।

तीन हजार ४४० सञ्चयकर्ताले घर सापटी र ६४ जनाले शैक्षिक सापटी उपयोग गरिसकेका गौतले बताउनुभयो । शाखाले तीन हजार ३४५ अवकाश प्राप्त सञ्चयकर्ताबीच रु ४४ करोड सञ्चय कोष भुक्तानी, ५९ जना मृतक सञ्चयकर्ताका हकवालालाई काजकिरिया अनुदान रकमबापत रु १७ लाख ५५ हजार, १६ जनालाई दुर्घटना क्षतिपूर्तिबापत रु १९ लाख र ११ मृतक सञ्चयकर्ताका हकवालाले कल्याणकारी रकमबापत रु १५ लाख ५० हजार पाएका छन् ।

विसं २०७२ असोजदेखि लागू गरिएको प्रसूति तथा शिशु स्याहारबापत दुई हजार ४२७ सञ्चयकर्ताबीच रु एक करोड ८२ लाख दुई हजार वितरण गरिएको छ भने औषधोपचार सुविधाअन्तर्गत २५ जनाबीच रु चार लाख ६९ हजार प्रदान गरिएको छ । सापटी असुलीलाई प्रभावकारी बनाई यस अवधिमा विशेष सापटीबापत रु २६ करोड र घरसापटीको साँवा व्याजबापत रु ३६ करोड असुल गरिएको छ ।

सञ्चयकर्ता घर सापटीको सस्पेन्स ब्याज रु दुई करोड ८४ लाखमध्ये रु दुई करोड अर्थात ७० प्रतिशत असुलउपर गरेको बताइएको छ । सत्रवटा नयाँ कार्यालयलाई कोषमा आबद्ध गराई २९१ सञ्चयकर्ता थप गरिएको कार्यालय प्रमुख गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij