१२ साउन, काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ ।
बैंकले आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३५।५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष एनएमबिले १ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानीमा पनि २७.५६ प्रतिशतले बढोत्तरी गर्दै २ अर्ब ५६ करोड ८१ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यो बैंकले २ अर्ब १ करोड ३२ लाख ८२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । एक वर्षको अन्तरालमा एनएमबिले चुक्ता पुँजी ४४.१ प्रतिशतले बढोत्तरी गरेर ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै, बैैकले रिजर्भमा पनि ७५.८० प्रतिशतले वृद्धि गरेर ४ अर्ब २६ करोड ९४ लाख ४० हजार रुपैयाँँ पुर्याउन सफल भएको छ । निक्षेप ६४ अर्बबाट बढाएर ७३ अर्ब २२ करोड ४० लाख ६३ हजार रुपैयाँ पुर्याउन सफल भएको बैंकले ६१ अर्ब २१ करोड ९० लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले सम्भावित जोखिमका लागि १८ करोड ३५ लाख ५३ हजार रुपैयाँ छुट्याएको छ भने २२ करोड ३५ लाख ६५ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको अघिल्लो वर्ष १.८१ प्रतिशत रहेको खराब कर्जा यो त्रैमासमा घटेर १.६६ प्रतिशतमै सीमित भएको छ ।