५ असार, काठमाडौं । एनबि इन्सुरेन्स कम्पनी लिमिटेडले सोमबार (आज)देखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । एनबिले १:१ अनुपातमा १०० रुपैयाँ दरको २७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
एनबिको हकप्रदमा जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । हाल एनबिको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुग्नेछ ।
हकप्रदकालागी बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद आवेदनका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नाचघर जमल र एनबि इन्सुरेन्सको उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणचौर नक्सालका साथै गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन दिन पाउनेछन् । यसैगरी, इन्सुरेन्सको उपत्यका बाहिरका विराटनगर, बुटवल, वीरगंज, पोखरा, बनेपा, नारायणगढ, नेपालगंज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ ।
साथै कम्पनीले हकप्रदको दरखास्त फारम आफ्नो तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइटबाट डाउनलोड गरेर पनि बुझाउन सकिने व्यवस्था गरेको छ ।