२०८३ साउन ९ शनिबार

असोज १५ भित्र मेलम्ची आउने सम्भावना कम, सुरुङ निर्माण निकै सुस्त

ई आर्थिक    मंगलबार, जेष्ठ २३ २०७४
4.1K
Shares
असोज १५ भित्र मेलम्ची आउने सम्भावना कम, सुरुङ निर्माण निकै सुस्त

२३ जेठ, काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ । १५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो । २७.५८४ किमिमध्ये २४.३४९ किमि सुरुङ मात्र सकिएको छ । अझै ३.१६६ किमि सुरुङ खन्न बाँकी छ ।

आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको बताए । देवकोटाले भने, ‘विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको छ । पहिला एकैपटक ६ स्थानबाट काम हुन्थ्यो । अहिले चार स्थानबाट मात्रै काम भइरहेको छ ।’

सुरुङमा नरम चट्टान भेटिएको र खन्ने रफ्तारमा पनि केही कमी आएकाले १५ असोजभित्र काम सक्न कठिन देखिएको देवकोटाले बताए । ‘सुरुङ खन्ने क्रममा अहिले नरम चट्टान भेटिएको छ । कामको रफ्तार घट्नुको यो एउटा कारण हो,’ उनले भने, ‘प्राविधिक पक्ष विश्लेषण गर्दा तोकिएको समयमा उपत्यकामा पानी ल्याउने सम्भव देखिएको छैन । तर, पनि १५ असोजभित्र काम सक्न हामी प्रतिबद्ध छौँ ।’

कहाँ कति सुरुङ खन्न बाँकी ?
अहिले दुई प्याकेजमा चार स्थानबाट सुरुङ खन्ने काम हुँदै आएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको करिब १० किमि सुरुङ खन्ने काम सकिएको छ । अब सिन्धुदेखि ग्याल्थुमसम्मको सुरुङ खन्न बाँकी छ । खन्ने क्रममा नरम चट्टान भेटिएको ठाउँ पनि यही हो । अन्यत्रसमेत गरेर अब ३.१६६ किमि सुरुङ खन्न बाँकी छ ।

ठेकेदारले बोनस नपाउने

मेलम्ची खानेपानी आयोजनाको लागत ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार तीन सय ४२ रुपैयाँ छ । निर्माणमा इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना) कार्यरत छ । ६ महिनाअघि नै काम सकेमा आयोजनाले ठेकेदार कम्पनीलाई प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ठ ६९ करोड ५१ लाख १२ हजार तीन सय रुपैयाँ बोनस दिने भनेको थियो । तर, काम नसकिने भएपछि ठेकेदार कम्पनीले बोनस रकम गुमाएको छ ।अाजको नयाँ पत्रिकामा खबर छ । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij