पोखरा, ३० वैशाख । स्थानिय निर्वाचन विथाेल्न विप्लब माअाेवादीका कार्यकर्ताले जताततै बम राखेका छन् । राखिएका बम मध्ये कतै विस्फोट भएकाे छ भने कतै सेनाकाे बम डिस्पाेजल टाेलिले निष्त्रफ
पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो ।निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ ।
बम निस्क्रिय
धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताउनुभयो । बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ ।
त्यस्तै नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ ।
सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेंसीमा राखिएको सिलिन्डर बम र महादेवबेंसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।
प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय
भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ ।
भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेसँगै अहिले त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
त्यस्तै नापी शाखा कार्यालय सप्तरीमा प्रेसर कुकर बम विस्फोट भएको छ। विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ।
अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ। मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्ति निकालेर ‘भ्रष्टाचार भएको कार्यालयमा कारबाही गर्न बम विस्फोट गराएको’ जनाएका छन् ।
बिहीबार सिरहाको लहानस्थित यातायात कार्यालयमा बम विस्फोट भएको थियो । सो घटनाको पनि गाइतले नै जिम्मेवारी लिएका छन् ।
