३० वैशाख, काठमाडौं । फिल्म रिलिजकै दिनदेखि रेकर्ड तोड्दै दश दिनमै विश्वभरबाट एक हजार करोड भारुको कीर्तिमानी कमाइ गरेको फिल्म ‘बाहुबली–२’ले नेपालमा पनि दुई सातामै १८ करोड रुपैयाँ हात पारेको छ।
यसअघि नेपालकै ‘छक्कापञ्जा’ ले पुगनपुग १६ करोड रुपैयाँको व्यापार गरेको थियो। ‘बाहुबली–२’ ले पहिलो सातामा मात्रै नेपालबाट १३ करोड रुपैयाँको कमाइ गरेको थियो’, स्रोतका अनुसार ‘दोस्रो सातामा चुनावी माहोलले मोफसलका सिंगल स्क्रिन हलमा दर्शकको चाप कम हुँदा ५ करोड रुपैयाँ मात्रै कमाइ भएको छ।’ एसएस राजमौलीद्वारा निर्देशित ‘बाहुबली–२’लाई नेपालमा गोपीकृष्ण मुभिजले वितरणको जिम्मा लिएको थियो।
फिल्म देशभरका एकसय २५ स्क्रिनमा एक्लो प्रदर्शन पाएको थियो। गोपीकृष्णका प्रबन्ध निर्देशक निरज पौडेलले पनि ‘बाहुबली–२’ले यसअघिका सबै रेकर्ड तोडेको स्वीकार गरे। उनले कमाइको तथ्यांक खुलाउन भने चाहेनन्। उनले फिल्म एक करोड ८५ लाख भारुमा किनेको भने बताए। ‘लगभग तीन करोड रुपैयाँ मिनिमम ग्यारेण्टस्सहित किनिएको हो। त्यसभन्दा माथिको व्यापारमा ७० प्रतिशत रकम हाम्रै हो।’ तेस्रो सातामा चलिरहेको फिल्मले नेपालबाट मात्रै २० करोडभन्दा बढीको कमाइ गर्ने विश्लेषकहरू बताउँछन्। २० करोड रुपैयाँ व्यापार गर्दा नेपाली वितरकले झण्डै १२ करोड रुपैयाँ मुनाफा गर्नेछन्।
‘बाहुबली–२’को व्यापार अत्यधिक मात्रै होइन, महाअत्यधिक हो’, गोपीकृष्णकै सहकार्यमा फिल्मको वितरण गरेका सुनील मानन्धरले भने। प्रभास, राणा दग्गुबती, अनुष्का सेट्टी, तमन्ना, रम्या कृष्णन्, सत्यराजलगायतको मुख्य भूमिकामा रहेको तेलुगु फिल्म ‘बाहुबली–२’ ले बलिउडकै बक्सअफिस वर्चस्वलाई समेत तोडिदिएको छ।
भारतीय बक्सअफिसमा पनि यो फिल्मले ४ सय करोड क्लबको नयाँ लक्ष्य पछ्याउँदै छ। वैशाख १५ मा प्रदर्शनमा आएको फिल्मले नेपालमा दुई साता सोलो रिलिज पाएको थियो। आजको कान्तिपुर दैनिकबाट