२८ वैशाख, काठमाडौँ । गत वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमाससम्ममा सेञ्चुरी बैंकले ३३ प्रतिशतले नाफा कमाउदै रू.३१ करोड ९ लाख ४० हजार पुर्याएको छ ।
यो त्रैमासमा खराब कर्जा सङ्कलन र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी करीब २५ प्रतिशतले वृद्धि भई रू.७७ करोड १० लाख ८८ हजार पुगेको छ भने खराब कर्जा २ गुणाले बढाउँदै रू.३ करोड ९१ लाख १ हजार सङ्कलन गर्न बैंक सफल देखिएको छ ।
यो त्रैमासमा रू.७ करोड २२ लाख ५५ हजार विदेशी विनिमय दरबाट आम्दानी गरेको छ । चुक्ता पूँजीमा पनि गत वर्षको तुलनामा ५१ प्रतिशतले वृद्धि भई रू.३ अर्ब ६८ करोड ९० लाख पुगेको छ । जगेडा कोष २ गुणाले बढेर रू.९३ करोड २८ लाख ९८ हजार पुगेको छ ।
यो त्रैमासमा रू.३३ अर्ब १४ करोड ४० लाख ६८ हजार निक्षेप सङ्कलन गरी बैङ्कले रू.३० अर्ब ६ करोड ८६ लाख ५३ हजार कर्जा प्रवाह गरेको छ । बैंकको लगानी रू.१ अर्ब ५६ करोड ११ लाख ११ हजार रहेको देखिन्छ । निष्क्रिय कर्जालाई शून्य दशमलव ५३ प्रतिशतमा सिमित गरेको बैंकले सम्भावित जोखीमका लागि रू.११ करोड १४ लाख ७ हजार छुट्याएको छ । प्रतिशेयर आम्दानी रू.११ दशमलव २४ रहेको छ ।