२०८३ साउन ९ शनिबार

बौद्धनाथ क्षेत्र विकास समितिकी कार्यकारी निर्देशक फुबु याङ्जी लामा भन्नुहुन्छ– ‘हामीले आफ्नै अगुवाइमा बौद्ध स्तुपा पुनर्निर्माण गरेर उदाहरणीय कार्य गरेका छौं’ (अन्तर्वार्ता)

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
11.5K
Shares
बौद्धनाथ क्षेत्र विकास समितिकी कार्यकारी निर्देशक फुबु याङ्जी लामा भन्नुहुन्छ–  ‘हामीले आफ्नै अगुवाइमा बौद्ध स्तुपा पुनर्निर्माण गरेर उदाहरणीय कार्य गरेका छौं’ (अन्तर्वार्ता)

कुनै कार्यमा पनि महिला कम हुँदैनन् भन्ने उदाहरणमा पर्नुहुन्छ- फुबु याङजी लामा । वि.स २०२७ सालमा काठमाडौंको बौद्धमा च्याङ्वा लामा र माता लाक्पा डोमा लामाको कोखबाट जन्मनु भएकी लामा बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक हुनुहुन्छ । बुद्ध दर्शन विषयमा स्नातकोत्तर गर्नुभएकी सामाजिक अभियान्ता लामा २०७० सालदेखि संकृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा २०५३ सालमा गठित सो समितिको मन्त्रीस्तरिय निर्णयवाट नियुक्त भई कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।

गत वर्षको भूकम्पमा क्षतिग्रस्त राजधानीको बौद्धस्थित बौद्धनाथ स्तुपाको पुननिर्माण उहाँकै कार्यकालमा स्थानीय स्तरबाटै सम्पन्न भएको छ। भूकम्प प्रभावित विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये बौद्ध स्तुपा सबैभन्दा पहिला पुनर्निर्माण गरिएको हो। ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणले गति नलिएका बेला बौद्धनाथ क्षेत्र विकास समितिले सरकारको मुख नताकी आफ्नै अगुवाइमा बौद्ध स्तुप पुनर्निर्माण सम्पन्न गरी उदाहरण बनेको छ। आफ्नो कार्यकालमा उहाँले आफुलाई शसक्त सावित गर्नुभएको छ । देशभर मनाउन लागिएको २०७४ साल वैशाख २७ गते वैशाखी पुर्णिमाका दिन २५६१औँ बुद्धजयन्ती भव्य रुपमा मनाइदैछ । सो अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले पनि विभिन्न कार्यक्रमसहित बुद्धजयन्ती मनाउने भएको छ । यसै विषयमा केन्द्रीत रही तिर्सना गिरी र चन्द्रमणि भुजेलले  www.eaarthik.com  कालागी गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बौद्धनाथ क्षेत्रको बारेमा एतिहासिक पृष्ठभूमि सहित समितिले गरेको कार्य संक्षेपमा बताईदिनोसन ?
श्री बौद्धनाथ क्षेत्र विकास समिति २०५३ सालमा गठन आदेश २०१३ बमोजिम सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विश्व सम्पदा सूचिमा सुचिकृत श्री बौद्ध महास्तुपा (महाचैत्य) को संरक्षण र सम्बद्र्धन तथा बौद्ध दर्शन बौद्ध धर्मको प्रचार प्रसार यहाँको ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको विकासमा अगाडि बढाउनकै लागि गठित विकास समिति हो । यसको आफ्नै मूल्य र मान्यता छ । त्यसैगरी श्री बौद्धनाथ महास्तुपको परम्परादेखि विभिन्न किवदन्तीहरु रहेको पाइन्छ । झ्याझिमा नामक महिलाले अनुमति लिई महाचैत्य निर्माण गरेको भनाई छ । अर्कोतर्फ महाचैत्य (स्तुप) आफैं उत्पन्न भएको भन्ने भनाई पनि छ । डायनिल राईटद्वारा १९ औं शताब्दीको एक बंशावली अनुसार एक महास्तुप राजा मानदेव प्रथमले सन ४६४ (५०५) मा निर्माण गर्न लगाइएको हो भन्ने देखिन्छ । अतः बौद्धनाथ स्तुपको पृष्ठभूमि पौराणिक तथा ऐतिहासिक सांस्कृतिक र आर्थिक रुपमा महत्वपूर्ण रहेको पाइन्छ ।

एक महिला भएर यहाँ यस्तो गरिमामय पद समालिरहदा के कस्ता अवरोधहरु झेल्नु पर्‍यो ?
मलाई आफ्नो जिम्मेवारी बहन गर्दा गर्व लाग्छ। यहाँ काम गर्न उत्तिकै चुनौतीहरु पनि छन्। पर्टीगत रुपमा नियुक्ती भएर आएकोले अफ्ठ्याराहरु आउछन् तर धार्मिक हिसावले सहजै छ। तर विभिन्न चुनौतीहरुलाई पार गर्दै यहाँ सम्म आएका छौ । हाम्रो कार्यकाल भनेको असार सम्म हो ।

बौद्ध जयन्तीको तयारी कस्तो भैरहेको छ ?
यस पटक वैशाख २७ गते हुन लागेको बुद्धजयन्ती भनेको २५६१औँ बुद्धजयन्ती हो । यसको लागि समितिले आँफै बजेट विनियोजन गरेको हुन्छ । समितिले धार्मिक, सांकृतिक एवम् सामाजिक कार्यक्रमका लागि गरिने बजेट विनियोजन अन्तर्गत समितिले आँफै यसको लागि रकम छुट्याएको हुन्छ । आर्थिक भार समिति आँफैले नै लिने हुँदा कार्यक्रम संयोजक आफै रही समितिले यस क्षेत्रका विभिन्न संघ संस्था, क्लव, गुम्वा, गुठी, स्कुल, स्थानीय मान्यजन, समाजसेवक लागायतलाई समेटेर २५६१औँ बुद्धजयन्ती मुल समारोह समिति गठन गरेका छौ ।

पहिलेको भन्दा यस पटकको बुद्धजयन्तीमा फरक के छ ?

यो साल हामीले बुद्धजयन्ती कार्यक्रम छोट्याएका छौ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म शान्ति दौड गर्दैछौ। दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम लामा, दामोदर बुढा मगर, शेरबहादुर थारू, महेन्द्र गुवाजु, दिनेश महर्जन, तेन्जिङ शेर्पा, नारायण नापित, सुर्य गुरुङ र दीपक शाक्य सहभागी हुनुहुन्छ । सो समूह सोमबार गल्छी, मङ्गलबार मुग्लिन र बुधबार आबुँखैरेनी हुँदै मनोकामना पुग्नेछ ।

data

यस्तो गर्नुको कारण के हो ?
हामीले गत वर्ष राष्ट्रियधावक रत्न तुलाधारबाटै बौद्धबाट मक्वानपुरसम्मको यस्तै दौड कार्यक्रम गरेका थियौ । सहभागीले दौडका क्रममा विभिन्न दातृ सङ्घ संस्थाले आर्थिक सहयोग उपलब्ध गराएका थिए जसबाट हामीले मक्वान्पुरमा रहेको चेपाङ गाउमा विद्यालय निर्माण गरी एक उदाहरण बनाएका थियौ । यसैगरी यसपाली मनकामनासम्मकालागि यो दौड राखेका छौ । किनभने मनकामना हिन्दूजमको प्रतिक हो र हिन्दूजम र बुद्धिजममा समानता रही आएको छ । अहिले मनकामना मन्दिर जीर्ण अवस्थामा छ । त्यसकारण पनि हामीले यो शान्ति दौडबाट संकलन भएको आर्थिक सहयोग मनकामना मन्दिर जीर्णोद्धारका लागि हस्तान्तरण गर्ने योजना बनाएका छौ ।

बौद्धनाथ स्तुपाको पुननिर्माणमा जम्मा लागत कति लाग्यो ? अन्य रकम कहाँ कहाँ खर्च भयो?
बौद्धनाथ स्तुपाको पुननिर्माणमा नगत र बहुमुल्य धातु (सुन) गरी जम्मा २८ करोड लाग्यो । हाम्रो आफ्नै पहलमा उठेको सहयोग रकम भनेको १४ करोड हो । अन्य रकम धर्मशालामा लगानी गरेका छौ । त्यसै गरी महांकालमा पार्क बन्दैछ । त्यो पार्क बनाउनका लागि हामीले ३० लाख उपलब्ध गराएका छौ ।

fubu

बौद्धनाथ स्तुपा पुननिर्माण गर्दा सरकार र स्थानीय जन सहभागीता चाँही कस्तोे थियो ?
पुननिर्माणमा सबै पक्षको साथ सहयोग रहेकोले नै यो सम्भव भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरु स्थानीय व्यक्तित्व संघ-संस्थाको सहयोग रहेको छ । नेपाल सरकारको आर्थिक सहयोग चाँही छैन तर अन्य आवश्यक कानुनी सहयोग, सल्ला-सुझाव भने नदिएको भन्न मिल्दैन । पुरातत्व विभागको प्राविधिक सहयोग रहेको छ । उहाँहरुले यस क्षेत्र विकास समितिलाई विश्वास गरेर नै त सहमति (स्वीकृति) पत्र दिनुभयो र यो महान कार्य पुरा गर्न सकियो । हामी आफैं पनि संस्कृति मन्त्रालय मातहतको विकास समिति भएकाले सरकारी निकाय नै हो । तथापी आर्थिक पक्ष हेर्दा चाँही विभिन्न आर्थिक व्यक्तित्व संघ-संस्था लामा गुरुहरु, गैह्र धार्मिक व्यक्तिहरु स्थानीय संघ-संस्था, व्यक्तिहरु सम्पूर्ण सहयोगी दाताहरुको थोपा थोपा संकलन र व्यवस्थापनमा यो संरचना निर्माण भएको छ । नेपाल सरकारको आर्थिक लगानी अर्थात सरकारी पैसा कतैवाट विनियोजित भएर आएको छैन ।

यो पार्क बनाउनुको उद्देश्य चाँही के हो ?
हिन्दू र बुद्धिष्टमा समानता रही आएको छ । यसलाई मुर्त रुप दिन र प्रगाढ सम्बन्ध बनाउनका लागि यस् पार्कमा दिपांकर र नारायणको मुर्ती स्थापना गर्दैछौ । यो पार्कलाई एतिहासिक तथा रमणिय बनाउने हाम्रो उद्देश्य हो ।

हाल दैनिक रुपमा आउने पर्यटकको संख्या कति छ ?
भुकम्प अगाडि दैनिक चार सयदेखि पाँच सयसम्म पर्यटकहरु आउने गर्थे भने भुकम्पका बेला सुन्य थियो । जब हामीले स्तुपा ठड्याउन शुरु गर्यौ त्यसपछी अली अली गर्दै पर्यटकहरु आउन थाले। अहिले दैनिक दुई सय पचासदेखि तीन सयसम्म हुने गरेको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिले के के गरेको छ ?
हामीले यस् क्षेत्रको विकासकालागि विभिन्न कार्यहरु गर्दै आएका छौ । बार्षिक रुपमा कार्ययोजना बनाई युनेस्को र नेपाल सरकार पुरातत्व विभागको सरसल्लाह सुझाब अनुसार नै हामीले नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्देशन अनुसार नै सबै काम हामीले गर्दै आइरहेका छौं ।
हामीले वडा कार्यालयले गर्ने कार्यसमेत गरेका छौ। जस्तै पानी ट्यांकीको व्यवस्थापन गर्ने देखि ढल व्यवस्थापन साथै सडक निर्माणसम्मको कामका लागि हामीले १८ लाख बजेट संसोधन गरी यहाँको वडा कार्यालयलाई पठाएका छौ ।

यहाँ विशेष गरी कुन कुन राष्ट्रको पर्यटकहरु आउने गरेका छन् ?
हामीले यहाँ बाट दुई किसिमको टिकाट प्रदान गर्छौ । एउटा सार्क देशका पर्यटकहरुकालागि र अर्को युरोपबाट आउने पर्यटकहरुकालागि हुन्छ । यो हिसावले हेर्ने हो भने दैनिक यहाँ युरोपबाट आउने पर्यटकहरु दुई सय पचासको हाराहारीमा छ भने सार्क देशबाट आउनेको संख्या भने ६०/७० जनाको हाराहारीमा छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
श्री बौद्धनाथ क्षेत्र विकास समिति भनेको नेपाल सरकार मातहत रहेको छ । यसको कार्य क्षेत्र भनेको कामनपा वार्ड नम्वर-६ हो । हामीले सरकारकै आदेशमा यसको बजेट समावेश गरी यहाँको क्षेत्र विशेष गरी धार्मिक, सांकृतिक तथा भौतिक विकास निर्माणका कार्यक्रमलाई वार्षिक बजेट विनियोजन गरी खर्च गरिएको हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij