२०८३ साउन १० आइतबार

प्रधानमन्त्री दाहालले जेठ १ गते राजीनामा दिने, त्यसपछि देउवा प्रधानमन्त्री

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
4K
Shares
प्रधानमन्त्री दाहालले जेठ १ गते राजीनामा दिने, त्यसपछि देउवा प्रधानमन्त्री

१० वैशाख, काठमाडौं । सरकार र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १ गते राजीनामा दिने भएका छन्।

वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि जेठ १ गते नै प्रधानमन्त्री राजीनामा दिने तयारी गरेका हुन्। बालुवाटार निकट स्रोतका अनुसार प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका हुन्।

कांग्रेस र माओवादीबीच भएको पूर्व सहमतिअनुसार दाहालले स्थानीय निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको भनी कांग्रेस नेतृत्वलाई बचन दिएको स्रोतले बतायो।

शनिबार बालुवाटारमा भएको सत्तारुढ दल र मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठकमा प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि आफूले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन्। उनको राजीनामापछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन्।

कांग्रेस सभापति देउवा नेतृत्वमा गठन हुने सरकारमा मधेसी मोर्चापनि सहभागी हुने सहमति भएको छ। यसअघि वर्तमान सरकारलाई मधेसी मोर्चाले सरकार बाहिर बसेर समर्थन गरेको थियो। तर, सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै केही महिला अगाडि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

मोर्चाले समर्थन फिर्ता लिएपछि राप्रपा सरकारमा सहभागी भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यही वैशाख १९ गते दाहाल प्रधानमन्त्री बनेको नौ महिना पूरा हुँदैछ।

सरकार र मोर्चाबीच बैशाख ३१ गतेकालागि घोषित स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने र बाँकी प्रदेशमा दोस्रो चरणमा गर्ने सहमति भएको छ।

यसैगरी मोर्चासँग भएको सहमति अनुसार सरकारले परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्रयाकबाट पास गराउने, तराइका केही जिल्लामा स्थानीय तहको संख्या थप गर्ने, स्थानीय तहको संख्या स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अनुसार हुने, प्रदेश सिमाकंनको विषय संघीय आयोगको प्रतिवेदन अनुसार हुने, भाषा आयोगको प्रतिवेदन अनुसार संविधानको अनुुसूचि राष्ट्रिय भाषा थपिने र मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो।

मधेसीव मोर्चासँग सहमति भएपछि मोर्चाले निर्वाचनमा भाग लिन सहमति जनाएको थियो। प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सरकार गठन हुँदा मोर्चासँग गरिएको तीन बुँदे सहमति अनुसार काम गर्न सकेको भन्दै जेठ दुई गते राजीनामा दिने बालुवाटार बैठकमा बताएको स्रोतले जनाएको छ।

यसअघि सरकारको नेतृत्व गर्नुअघि कांग्रेस र माओवादी केन्द्रबीच नौं÷ नौ महिना आलोपालो सरकार संचालन गर्ने सहमति भएको थियो। जसअनुसार पहिलो नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने र दाहाल नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गराउने भद्र सहमति भएको थियो। सो सहमति अनुसार दाहालले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गराएपछि राजीनामा दिने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij