बर्दिवास, १ वैशाख । चर्चित हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर थप चर्चामा छन् । भुकम्प पिडित र विपन्न मुसहर परिवारलाई ‘एकीकृत नमुना बस्ती’ निर्माण गर्दै हस्तान्तरण समेत गर्न सफल भएपछि उनीहरु थप चर्चाको शिखरमा पुगेका हुन ।
उनीहरु अहिले कसैका भगवान भएका छन भने सबैका प्रशंसक बनेका छन् ।
मुसहर बस्तीलाई ‘एकीकृत नमुना बस्ती’ निर्माण गरेर हस्तान्तरण गरे पछि धुर्मुस-सुन्तलीलाई अहिले पुरै मुसहर वस्तिले भगवानको संज्ञा दिएका हुन । त्यसो त उनीहरु देश विदेशमा रहेका पुरै नेपालीहरुको थप प्रशंसक भएका छन् । उनीहरुको उदाहरणीय कार्यको प्रशंसाको साथै खुलेर आर्थिक सहयोग पनि गर्न थालेका छन ।
धुर्मस-सुन्तली फाउण्डेसनले मुसहर बस्तीको लागि महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ यतिवेला स्थानीय समुदायलाई एक समारोहवीच हस्तान्तरण गरिएको थियो ।
धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपाली हास्यकला क्षेत्रका प्रसिद्ध कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले आज संयुक्तरुपमा एकिकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गर्नुभएको हो ।
यसअघि एकीकृत बस्तीको मुख्यद्वार खोल्न महजोडीसँगै नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी हुनुहुन्थ्यो । सोहि अवसरमा बस्तीभित्र निर्मित भ्यू–टावर मुख्यसचिव डा सोमलाल सुवेदी र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान धुर्मुस–सुन्तलीका मातापिता (बोगराज कट्टेल, कमला कट्टेल एवम् हरिप्रसाद घिमिरे, सीतादेवी घिमिरे) ले संयुक्तरुपमा मुसहर समुदायलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले राष्ट्र निर्माण अभियानमा हास्यकला क्षेत्रकै धुर्मुस–सुन्तलीले तीन वटा बस्ती बनाएर ‘आँटे सकिन्छ’ भन्ने उदाहरण दिएको बताउनुभयो ।
नेपाल सरकारका मुख्य सचिव डा सुवेदीले भर्खरै हस्तान्तरण भएको बस्तीका मुसहर समुदायको शिक्षा, स्वास्थ्य र अन्य अवसरका लागि फाउन्डेसनसँग समन्वय गरेरअघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा जीवराज पोखरेलले गरिबी र अशिक्षाले पछि परेका मुसहर समुदायको आर्थिक अवस्था उकास्न तत्काल आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश–विदेशबाट रु ६ करोड ३६ लाख ३९ हजार सहयोग प्राप्त भएको र तीमध्ये रु पाँच करोड चारलाख खर्च भएको जानकारी दिनुभयो ।
बस्तीमा ५० घरधुरी मुसहरका लागि खानेपानी धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू–टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ ।
त्यसैगरी यसअघि मुसहर बस्तीभित्रै बसोवास गर्दै आएका तीन अन्य जाति समुदायका घरधुरीका लागि छुट्टै जग्गाको व्यवस्था गरेर घर बनाइएको न्यौपानेले जानकारी दिनुभयो ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हास्यकलाकार बसुन्धरा भुषाल, नायक शिव श्रेष्ठलगायतकाले बस्ती निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गरेकोमा धुर्मुस–सुन्तलीलाई धन्यवाद दिनुभयो ।