१५ चैत, रामपुर (पाल्पा)। प्राकृतिक एवम् ऐतिहासिक रुपमा धनी पर्यटकीयस्थल सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन ।
सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट क्षेत्रमा पर्यटक लोभ्याउने प्रसस्त स्थलहरु रहेका छन् । त्यसैमा पर्ने एक हो- भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा । पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ ।
माछापुच्छे र धौलागिरि हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासीलगायतका विभिन्न स्थानको एकैनजरमा अवलोकन गर्न सकिने ऐतिहासिक पर्यटकीय क्षेत्र जुरेगुफा विकास पूर्वाधारको अभावमा ओझेलमा परेको हो । विसं २०३८ मा सो क्षेत्रका बासिन्दाले चमेरा मार्न जङ्गलमा जाँदा गुफा फेला पारेका कथन छ । गुफाभित्र नाग, भगवान्का विभिन्न आकृति, तरबारजस्तो आकृति, केराको खाप, गाईका थुनको आकृति देखिन्छ ।
दुई तलामा रहेको सो गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला करिब ६० मिटर लामो रहेको छ । सहलकोटको उच्च भेगमा वनभित्र रहेको उक्त गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीसँग यहाँबाट लडार्इं लडेको स्थानीयवासी बताउँछन् । यहाँबाट लुकेर झिरुवासको काउँलेडाँडा, मुहरियाडाँडा, नवलपरासीको हुक्सेकोटको थुम्काडाँडामा रहेका विपक्षीसँग लडेको इतिहास छ । अझै पनि गुफा आसपासका परिसरमा गोलीका अवशेष रहेको स्थानीयवासी बताउँछन् ।
गुफासम्म पुग्ने गोरेटो बाटो सामुदायिक वनका उपभोक्ता र स्थानीयवासीले निर्माण गरेपछि पछिल्लो समय अवलोकन गर्न आउने पर्यटकलाई सहज भएको स्थानियहरुले सुनाए । तर आर्थिक अभावका कारण गुफाको राम्रो संरक्षण हुन नसकेको दुखेसो स्थानियबासीको छ ।
रामपुर नगरपालिकाको केन्द्रबाट सवारी साधनमार्फत करिब दुई घन्टामा गुफा पुगिन्छ । सहलकोटको जुरेबाट गुफा पुग्न १५ मिनेटको उकालो चढ्नु पर्छ । यहाँ मासिक करिब तीन सयको हाराहारीमा पर्यटक भित्रने गरेका छन् ।
भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा गुफालाई मुलुककै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ । गुफा नजिकै घागी पोखरी रहेको छ । उक्त पोखरी संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ । भुरे राजाहरुले जुरे गुफामा बसोबास गरेका बखत नुहाउने गरेको सो पोखरीको संरक्षण हुन सकेको छैन । प्रशस्त पानी रहने उक्त पोखरीमा २०६० साल यता पानी सुक्दै गएको छ । करिब एक सय मिटर क्षेत्रफलमा फैलिएको उक्त पोखरीको अस्तित्व सङ्कटमा परेको छ ।
यस् क्षेत्रको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मनमोहित पारिरहेको हुन्छ । सहलकोट क्षेत्रकै चिनारी जुरेलेक, घाँगी गुफा गरी यहाँ करिब ५० को हाराहारीमा गुफा रहेका छन् । तर प्रचारप्रसार भने हुन सकेको छैन । स्थानीयस्तरबाट केही प्रयास भए पनि यसको प्रवद्र्धनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।