२४ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगमले ल्याउन लागेको वाइड बडीको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
निगमका सञ्चालक समितिले स्वीकृति दिएपछि अमेरिकाको एएआर कम्पनीसँग वाइडबडीका विषयमा समझदारीपत्रमा हस्ताक्षर भई खरिद गर्नेसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो ।
निगमले वाइडबडी खरिद सम्झौता आगामी चैत महिनासम्ममा गर्ने लक्ष्य निर्धारण गरेको छ । उक्त जहाजको मूल्य करिब रु १० अर्ब ९२ करोड पर्ने बुझिएको छ । नयाँ आउने जहाजले साउदीको दमाम, कोरियाको सिओल, अस्ट्रेलियकाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ ।
त्यसैगरी निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ । निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तीमा पनि एउटा विमान थप्दै जाने योजना लिएको बताउनुभयो ।
नेपालको पर्यटन विकासका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सरोकार निकायसँग धेरै पटकको वार्ता र छलफलपछि राष्ट्रिय ध्वजावाहक विमान सेवालाई माथि नल्याएसम्म पर्यटन क्षेत्रको विकास र विस्तार नारामा मात्र सीमित हुने निष्कर्षका साथ वाइडबडी खरिद गर्ने निचोडमा पुगेको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो ।
वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका एक हजार ४०० कर्मचारी ढुक्क रहेको बताउँदै उहाँले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाउनुभयो ।
राम्रो सामान सस्तो मूल्यमा पाएका छौँ, विमान आएपछि जापान, कोरिया र लण्डनजस्ता व्यावसायिक दृष्टिले राम्रा मार्गमा उडान भरिने जनाउँदै निगमले आगामी छ महिनादेखि एक वर्षभित्रमा नेपालको हवाई उडड्यन क्षेत्रलाई युरोपेली मुलुकले राखेको कालो सूचीबाट माथि उठाउने अठोट गरेको छ ।