२३ माघ, काठमाडौँ । मुलुककै ठूलो दूरसञ्चार कम्पनीका रूपमा रहेको नेपाल टेलिकम १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा टेलिकमले शनिबार राजधानीमा बिभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मानायो ।
सरकारी स्वामित्वको कम्पनीको रुपमा रहेको टेलिकमले टेलिफोनमा ४८ प्रतिशत र इण्टरनेटमा ५४ दशमलव ७८ प्रतिशत बजार अंश ओगटेको छ ।
वार्षिकोत्सवका अवसरमा टेलिकमले आफ्ना विभिन्न सेवामा छूट दिएको छ । जीएसएम प्रिपेड सेवाग्राहीलाई सेवा सुचारु गरेसँगै निःशुल्क रूपमा प्रतिदिन १ सय एमबीका दरले ४ दिनसम्म ४ सय एमबी डाटा दिएको छ । जीएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा ५ दिन भ्यालिडिटीसहितको १ सय एमबी फेसबूक प्याकेजको व्यवस्था गरेको छ ।
कम्पनीले जीएसएम नाइट डाटा प्याकेजमा ४० रुपैयाँमा ७ दिनका लागि ५ सय एमबी र ८५ रुपैयाँमा १५ दिनका लागि १२ सय एमबी डाटा उपलब्ध गराउनेछ । त्यस्तै जीएसएम डाटा अफरअन्तर्गत १ सय ३० रुपैयाँमा ७ दिनका लागि २ सय एमबी र ३ सय रुपैयाँमा १५ दिनका लागि ५ सय एमबी डाटा प्याकेजमा प्याकेज डाटाबराबरकै थप डाटा बोनस स्वरूप उपलब्ध गराएको छ । त्यस्तै, सीडीएमए ढाटा अफरअन्तर्गत ७ दिनका लागि ७५ रुपैयाँमा २ सय एमबी डाटा र १ सय ७५ रुपैयाँमा १५ दिनका लागि ५ सय एमबी डाटा प्याकेजमा प्याकेजबराबरकै डाटा बोनसस्वरूप थप प्राप्त गर्न सकिनेछ ।
लामो समयदेखि बन्द रहेको सीआरबीटी सेवा पुनः सुचारु गरेको टेलिकमले प्रतिदिन एउटा गीतका दरले १५ दिनसम्म सो सेवा निःशुल्क गरेको छ । उल्लिखित छूट सुविधा माघ २२ गते शनिवारदेखि आगामी फागुन ७ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै शनिवारदेखि एनटिप्रो सेवामा आगमन कलको दरमा ५० प्रतिशत छूट उपलब्ध हुने गरी प्रतिमिनेट ३ रुपैयाँ कायम गरिएको छ । आइतवारदेखि ३ दिनसम्म जीएसएम तथा सीडीएम प्रिपेड सेवामा प्रत्येक रिचार्ज कार्ड तथा एमपोस रिचार्जसमेत छूटको व्यवस्था गरिएको छ । यसमा ५०, १ सय र २ सयको रिचार्जमा १० प्रतिशत तथा ५ सय र १ हजार रिचार्जमा १५ प्रतिशत बोनस पाउन सकिनेछ ।
त्यस्तै इजी फोन सिप एकाउण्टबाट त्यस्तै अर्को एकाउण्टमा गरिने कल निःशुल्क गरिएको छ । साथै इजी फोनबाट नेपाल टेलिकमका अन्य नम्बरहरूमा समेत कल गर्न सक्ने व्यवस्था गरिएको छ । आगामी फागुन १ देखि ३ महीनासम्मका लागि त्यस्तो ५० प्रतिशत छूट दिइएको छ । त्यस्तै फागुन १ देखि आगामी वैशाख ३१ सम्म नयाँ एडीएसएल तथा एफटीटीएच सेवाका ग्राहकहरूलाई निःशुल्क रूपमा सिप एकाउण्टको व्यवस्था गरिएको छ ।
केही सेवामा नयाँ मूल्य
टेलिकमले फागुन १ देखि लागू हुनेगरी केही सेवाको नयाँ दर लागू गर्ने भएको छ । जसमा अनलिमिटेड एडीएसएल प्याकेजको हालकै मासिक शुल्क दरमा थप ब्याण्डविथ उपलब्ध हुनेछ । यसमा हाल ९ सय रुपैयाँमा १९२ केबीपीएस रहेकोमा २५६ केबीपीएस, १५ सय रुपैयाँमा ३८४ केबीपीएस रहेकोमा ५१२ केबीपीएस र २७ सय रुपैयाँमा ५१२ पीएस रहेकोमा ७६८ केबीपीएस ब्याण्डविथ उपलब्ध हुनेछ । त्यस्तै, इण्टरनेट र इण्ट्रानेट लिज सेवाको मासिक पोर्ट चार्ज ५ सयबाट घटाएर १ सय रुपैयाँ, कपर लिज एक्सेस चार्ज ५ सयबाट घटाएर २ सय रुपैयाँ र अप्टिकल लिज एक्सेस चार्ज १ हजारबाट घटाएर ३ सय रुपैयाँ कायम गरिएको छ । यसबाहेक, ल्याण्डलाइन सेवामा फाल्गुन महीनाको मासिक शुल्कमा थप २५ कल निःशुल्क प्रदान गरिनेछ ।