२२ माघ, काठमाडौं । लामो प्रयास गर्दा पनि नेपालको राष्ट्रिय ढुकुटीमा रहेका प्रतिबन्धित भारु नोट साटिन सकेका छैनन्। प्रतिबन्धित ५ सय र १ हजार दरका भारतीय नोट साट्ने विषयमा आगामी एक साताभित्र भारत सरकारसित निर्णायक वार्ता हुने भएको छ।
भारु सटही बारे एक हप्ताभित्र टुंगो लगाउने प्रयास आफूले गरिरहेको नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले बताउनुभएकोछ । नेपालमा रहेको भारु नोट साट्दा कालो धन भित्रिने हो कि भन्ने अशंका भारतीय अधिकारीहरुमा रहेको कारण ढिलासुस्ती भईरहेको उहाँले जानकारी दिनुभयो । तर अर्को हप्तासम्म नोट सटहीबारे केहि निर्णय हुनसक्ने बताउदै उहाँले भन्नुभयो- “भारतमा बजेटको सन्दर्भ परेर उहाँहरुले त्यसमा हेर्न पाउनु भएन, बजेट आए लगत्तै सार्वजनिक विदाहरु परे, अब अर्को हप्तासम्ममा यो विषयले टुंगो पाउनुपर्छ भन्ने हाम्रो प्रयास छ।”
भारत सरकारले नोट सटहीका लागि तय गरेको समयसीमा नाघिसकिएको छ। तर नेपालमा रहेका भारु साटिएका छैनन। नेपालको ब्याङ्किङ प्रणालीमा करिब साढे तीन करोड रुपैयाँ जति भारु ५ सय र १ हजार दरका नोट रहेको तथ्याङ्क राष्ट्र बैंक सँग छ। त्यसका अलावा भारतमा गएर काम गरेर आउने नेपालीहरु अनि व्यवसायीहरुसँग त्यो भन्दा निकै ठूलो परिमाणमा नोट रहेको अनुमान गरिएको छ।
भारत सरकारले चलन चल्तीमा रहेका १ हजार र ५ सय दरका नोट माथि प्रतिबन्ध लगाएसँगै नेपालमा रहेका उक्त दरका नोटहरु साट्ने पहल शुरु भएको थियो। तर भारतका नागरिकका लागि नोट साट्न दिइएको समय सीमा सकिएको महिना दिन भन्दा धेरै भइसक्दा पनि भारत सरकारले नेपालमा रहेका नोट साटिने वा नसाटिने बारेमा कुनै जवाफ दिएको छैन।
पटकपटक पत्राचार गर्दा समेत जवाफ नपाएपछि नेपाल राष्ट्र बैंकले छलफलका लागि प्रतिनिधि मण्डल भारत पठाएको थियो । उक्त टोली पनि रित्तो हात नेपाल फर्किएपछि दिल्लीस्थित नेपाली दूतावासले नोट सटहीको लागि अग्रसरता लिइरहेको छ।
भारतीय अधिकारीहरु बजेट ल्याउन केहि समय व्यस्त भएको तर अब त्यहाँ बजेट प्रस्तुत भइसकेकाले लामो समयदेखि अल्झिएको यो मुद्दाले समाधान पाउने नेपाली पक्षको विश्वास रहेको छ।
राष्ट्र बैंकका अधिकारीहरु पनि भारतीय बजेट आइसकेकोले अब नेपालका रहेको भारु नोट बारेको छलफलले गति लिने कुरामा आशावादी देखिएका छन्।