१३ माघ, काठमाडौँ । स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको परिवारको फेरी १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।
ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ ।” उहाँले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिनुभयो ।
यस अघी पनि ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी जग्गा फेला पारिसकेको छ ।
चल सम्पत्ति करडौ
पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पत्ति ४० करोड ८८ लाख ७६ हजार रुपैयाँ रहेको पाइएको छ । नेपाल ट्रष्टले आर्थिक वर्ष २०७३–७४ मा वीरेन्द्र परिवारको चल सम्पति सार्वजनिक गरेको हो ।
ट्रष्टका अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ ।
नबिल बैंक लिमिटेडमा दुईलाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ ।