२०८३ साउन ९ शनिबार

भारतीय एकाधिकार तोड्दै पहिलो पटक ग्यास ल्याउन नेपाली बुलेट पठाइँदै

ई आर्थिक    आइतबार, माघ ९ २०७३
3.2K
Shares
भारतीय एकाधिकार तोड्दै पहिलो पटक ग्यास ल्याउन नेपाली बुलेट पठाइँदै

९ माघ, काठमाडौं । खाना पकाउने एलपी ग्यास ल्याउन उद्योगीले नेपाली बुलेट भारत पठाउने भएको छ । कानुनी प्रक्रिया नमिलेको भन्दै डेढ महिना भन्सार नाकामा रोकिएर नेपाल भित्रिएका नेपाली नम्बरका बुलेटलाई पहिलो पटक ग्यास ल्याउन भारत पठाउने तयारी गरिएको हो ।

दुई दशकअघिको भारतीय एकाधिकार तोड्दै पहिलो पटक नेपाली नम्बरका बुलेटमार्फत ग्यास ल्याउन लागिएको हो । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्नुभयो, “नेपाल आयल निगमले बुलेटको प्राविधिक चेकचाँज गर्न बाँकी रहेकाले ढिलाइ भएको हो, सोमबार वा मंगलबार ग्यास ल्याउन बुलेट पठाउँछौं ।”

नेपाली बुलेटले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास ल्याउने छन् । “ग्यास लोडिङ गरेर नेपाल आइपुग्न बुलेटलाई एक साता लाग्ने गर्छ,” घिमिरेले भन्नुभयो, “नेपाली बुलेटबाट ग्यास ल्याउन सुरु भएपछि लामो समयदेखिको भारतको एकाधिकार तोडिनेछ ।”

एक बुलेटमा १८ टन ग्यास अट्छ । आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यास खरिद गर्न अनुमति दिएपछि उद्योगीले आफ्नै लगानीमा बुलेट निर्माण गरेर नेपाल भित्राएका हुन् । ५५ वटा ग्यास उद्योगले आफ्नो क्षमताअनुसार बुलेट निर्माण गरेका छन् ।

प्रतिबुलेट ६० देखि ७० लाख रुपैयाँ लागतमा उद्योगीले भारतमा बुलेट निर्माण गरेका थिए । नेपाली नम्बरका ग्यास बुलेट नहुँदा अहिलेसम्म भारतीय बुलेटबाटै ढुवानी गरिँदै आएको छ ।उद्योगीले पहिलो चरणमा ३ सय २ वटा बुलेट निर्माण गरेकोमा दुइटा मात्रै नेपाल भित्रिएका छन् ।

बाँकी ३ सय निर्माणाधीन अवस्थामा भारतमा रहेका बुलेट नेपाल ल्याउने तयारी भइरहेको उद्योगीको भनाइ छ । ७ सय ७५ वटा बुलेट निर्माण गर्न उद्योगीले अनुमति पाएका थिए ।

जेठ मसान्तसम्म सवै बुलेट निर्माण गरिसक्ने उद्योगीको भनाई छ । भारतीय नम्बरका बुलेटबाट ग्यास ढुवानी गर्दा वर्सेनि तीनदेखि साढे ३ अर्ब रुपैयाँ बाहिरिने गरेको थियो ।अबदेखि ढुवानीमार्फत जाने रकम नेपालमै बचत हुने र नेपाली चालक तथा सहचालकले रोगजारी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij