ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको दुई महीनामा १ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०र८१ को दुई महीनामा नै १ लाख ६ हजार ४५९ जनाले श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार साउनमा ५५ हजार ५७५ जनाले र भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् । दुई महीनामा युनाइटेड अरब इमिरेट्स ९युएई०का लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा युएई जानको लागि २३ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् ।
उक्त अवधिमा युएईपछि नेपालीहरूले सर्वाधिक श्रम स्वीकृति लिने देश हो, साउदी अरब । उक्त देश जानको लागि २० हजार ७१७ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै कतारको लागि २० हजार ३२८ जनाले र मलेसिया जानको लागि १७ हजार ४३७ जनाले श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७९र८० को दुई महीनामा भने वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ३९ हजार ४४२ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको उक्त अवधिको तुलनामा यो आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या २३ प्रतिशतले घटेको हो ।