ई–आर्थिक, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ जारी गर्दैछ । कम्पनीले साउन ३२ अर्थात आज गतेदेखि सर्वसाधारणका आईपीओ विक्री खुला गरेको छ ।
सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २३९ रूपैयाँमा कुल ९६ लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियम वापत १३९ रूपैयाँ थप गरेको हो ।
कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कर्मचारीहरूमा भने कम्पनीले ४ लाख ८० हजार कित्ता आईपीओ प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै विक्री गर्ने जानकारी दिएको छ । यी वाहेक ४ लाख ८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७६ लाख ८० हजार कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओ खरीदका लागि छिटो अवधि भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १४ गतेसम्म विक्री लम्बिनेछ । तर सर्वसाधारणमा जारी हुने आईपीओ पहिलो दिनमै विक्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीकोे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर एप मार्फत समेत आवेदन दिन सकिनेछ ।