२०८३ साउन १७ आइतबार

३ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा , प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

ई आर्थिक    आइतबार, साउन १७ २०८३
114
Shares
३ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा , प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक परेका हुन्।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराइएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराइएको छ। साथै, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकले जनाएको अनुसार राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ मा तोकिएको व्यवस्था विपरीत सम्बन्धित निकायबाट अनुरोध प्राप्त भएपछि पनि समयमै बैंक खाता रोक्का नगरी नियामकीय निर्देशनको बेवास्ता गरेको पाइएको थियो।

सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम बैंकलाई पहिलो पटक सचेत गराइएको हो।

यस्तै, कृषि विकास बैंकले पनि ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित)’ अनुसार समयमै बैंक खाता रोक्का नगरेको भेटिएपछि राष्ट्र बैंकले पहिलो पटक सचेत गराएको जनाएको छ।

केन्द्रीय बैंकले भविष्यमा सम्बन्धित निकायबाट अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवाको प्रक्रिया तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्रभु बैंकको हकमा भने समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कमजोरी सुधार गर्न यसअघि पटक–पटक निर्देशन दिइए पनि आवश्यक सुधार नभएको राष्ट्र बैंकले जनाएको छ।

सोही कारण बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने प्रतिबद्धता गराइएको तथा तत्कालीन सीईओ अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij