ई–आर्थिक, धनकुटा । धनकुटाको पाख्रिवासस्थित संसारी सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण गरिएको छ । सो प्रतीकात्मक विमानको लम्बाइ ८० फिट तथा उचाइ १० फिट रहेको छ । भित्रसमेत पस्न र बस्न मिल्ने गरी निर्माण गरिएको सो विमानमा करिब ६० व्यक्ति अटाउन सकिन्छ ।
सो संरचनाभित्र विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी गर्न सकिने सिमसार व्यवस्थापनका सचिव प्रेम भण्डारीले जानकारी दिनुभयो । पर्यटकलाई नयाँपन दिन विमान निर्माण गरिएको उहाँको भनाइ छ। कोशी प्रदेश सरकारको सहयोगमा करिब १५ लाख रुपियाँको लागतमा सो संरचना निर्माण गरिएको हो । फलाम टिनका पाता र सिसा प्रयोग गरी विमानकक्ष निर्माण गरिएको हो ।
विमान कक्षभित्र भने पाख्रिबास नगरपालिकाको करिब तीन लाख रुपियाँको सहयोगमा बस्ने सिट तथा शौचालय निर्माणको तयारी गरिएको छ ।
पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारसँग रकम मागेर काम गरिएको प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो । “प्रदेश सरकारको सहयोगमा बाहिरी संरचना निर्माण ग¥यौ, अब पालिकाले भित्रको संरचना निर्माण गर्न सहयोग गर्छ अनि पर्यटकले नयाँपन पाउने छन्,” उहाँले भन्नुभयो ।
सो सिमसार क्षेत्रमा यसअघिनै करिब एक करोड ६९ लाख रुपियाँको लागतमा पोखरी व्यवस्थापन गरी शिवको मूर्ति, बुद्धको मूर्ति, नागसहित विभिन्न संरचना निर्माण गरिएको छ । सो क्षेत्रमा अहिले दैनिक सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् ।