२०८३ साउन १४ बिहिबार

वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइएमई लाइफको आईपीओमा आकर्षित

ई आर्थिक    बिहिबार, असार १४ २०८०
2.9K
Shares
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइएमई लाइफको आईपीओमा आकर्षित

ई–आर्थिक, काठमाडौं । प्रिमियम मूल्यसहित विक्रीमा आएको आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा बढी आवेदन परिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सकिने गरी १२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । असार १३ गतेसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओ खरीदका लागि २० हजार ३५१ जना वैदेशिक रोजगारीमा रहेका नेपालीबाट १६ लाख ७६ हजार ४३० कित्ता आईपीओ खरीद माग भएको छ । सो अवधिसम्म कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट करीब १४० प्रतिशत बढी आवेदन परेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्रीपछि कम्पनीले असार २० देखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता, सामूहिक लगानी कोषहरूलाई ६ लाख कित्ता विक्री गरी बाँकी रहेको ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि दिन सकिने व्यवस्था छ ।

कर्मचारीका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने कम्पनीले अन्यमा भने प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल रू. २ अर्ब ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको अब यो रकम रू. ४ अर्ब पुग्नेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij