२०८३ भाद्र २५ बिहिबार

‘वित्तीय जोखिमबाट बचौं, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔं’ नारासहित काठमाडौंका सहकारीलाई बालेनको निर्देशन

ई आर्थिक    बुधबार, असार १३ २०८०
2.3K
Shares
‘वित्तीय जोखिमबाट बचौं, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔं’ नारासहित काठमाडौंका सहकारीलाई बालेनको निर्देशन

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका सहकारी संघसंस्थालाई बच्न र बचाउन निर्देशन दिएका छन् । नियम, कानुनले तोकेको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न शाहले सामाजिक सञ्जालमार्फत् वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न निर्देशन दिएका हुन् ।

‘वित्तीय जोखिमबाट बचौं, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔं’ भन्ने नारासहित मेयर शाहले संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवम् विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवम् व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न आग्रह गरेका छन् । यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्न पनि उनले आग्रह गरेका छन् ।

सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध भन्दै मेयर शाहले बुँदागत यी सुझाव समेत दिएका छन् :

सहकारी संस्थाहरुमा मेयर शाहको अनुरोध

— तोकिएको समयमा सबै सेयर सदस्यहरुलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउनुहोला ।

– विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।

— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।

— वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला ।

— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।

— सेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।

— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोबार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।

— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।

— कार्यपद्दतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।

— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्कसहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।

— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।

— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।

— आफ्ना सेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

सदस्य÷बचतकर्ताहरुलाई अनुरोध

सहकारी संस्थाहरु बैंक होइनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।

— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोबारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।

— नियमित साधारणसभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।

— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।

— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।

— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी लिनुहोला ।

– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोबार नगर्नुहोला ।

— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासाग कारोबार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।

— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।

— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij