रसुवा । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र बनाएको छ।
बाढीका कारण अवरुद्ध आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने काममा उल्लेखनीय प्रगति भएको छ। वारिपारि आवतजावत सहज बनाउन सेनाले डोरी (रोप) समेत टाँगेको छ।
बाढी आएको दिन अर्थात् भदौ १० गते नै नेपाली सेनाको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुगमन (रेकी) गरेको थियो। त्यसपछि सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्ने क्रममा सेनाको टोलीले दुई जनाको शव फेला पारेको थियो।
भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। संयुक्त टोलीले हालसम्म सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरी खोजी कार्य अघि बढाएको छ।
उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन बबक्याट एस्काभेटरसहित आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर समेत प्रयोग भइरहेको छ। उपकरणको सहायताले सुरुङभित्र जमेको दलदल पन्छाउने तथा उत्खनन गर्ने काम निरन्तर जारी राखिएको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण आयोजनास्थलमा पुगेको क्षति तथा अवरुद्ध संरचनाका कारण उद्धार र पुनर्निर्माण चुनौतीपूर्ण बने पनि सेनाको टोलीले पहुँच मार्ग खुलाउने तथा सुरुङभित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।