ई–आर्थिक, काठमाडौं । राजस्व चुहावटसम्बन्धी मुद्दामा विशेष अदालतले सहसचिव चुडामणि शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
सरकारले २०७१ सालमा कर फर्छ्यौट गर्न आयोग गठन गरेको थियो । त्यसमा चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए । त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा आयोगका सदस्य सचिव थिए ।
त्यतिवेला कर फर्छ्यौट आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । २०७४ साउन १ गते दर्ता भएको मुद्दामा आज फैसला आएको हो ।
आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको छ ।
विशेष अदालतले सहसचिव शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ ।