२०८३ साउन २२ शुक्रबार

अप्रिलमा विश्वभरबाट ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिए, चिनियाँ पर्यटक मात्रै चार हजार ७७०

ई आर्थिक    बुधबार, बैशाख २० २०८०
3.3K
Shares
अप्रिलमा विश्वभरबाट ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिए, चिनियाँ पर्यटक मात्रै चार हजार ७७०

ई–आर्थिक, काठमाडौं । भारतपछि दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा सुधार आएको छ । कोरोना महामारीका कारण ठप्पजस्तै रहेको चिनियाँ पर्यटकको पछिल्लो आगमनले पर्यटन क्षेत्रलाई पुनः लयमा फर्किन लागेको देखाएको छ । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को अप्रिलको तुलनामा सन् २०२२ को अप्रिलमा पर्यटकको आगमनमा ९० प्रतिशत सुधार आएको छ ।

उहाँले भन्नुभयो, “सन् २०२३ को अप्रिलमा चार हजार ७७० जना चिनियाँ पर्यटकसहित हवाई मार्गमार्फत विश्वभरबाट ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्या बढेको र बोर्डले कुनमिङ, छेन्दु र बेइजिङमा गरेको चाइनिज सेल्फ मिसन कार्यक्रमको सकारात्मक प्रभावले पर्यटन आगमनमा सुधारले देखाएको छ ।”

सन् २०२३ को मार्चमा चीनबाट दुई हजार ६३५ पर्यटक मात्रै नेपाल भित्रिएकाले नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटकको आगमनलाई पर्खिरहेको समयमा समूहगत रूपमै चिनियाँ पर्यटक भित्रिन थालेपछि पर्यटन क्षेत्रले पुरानै लय समात्न थालेको उहाँले बताउनुभयो ।

चिनियाँ सरकारले आफ्ना नागरिकलाई घुम्न खुला गरेका ४० देशको सूचीमा नेपाललाई समेत समेटेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकको मुख्य सिजन (मार्च–अप्रिल)को मुखमै राम्रो सङ्केत देखिएको उहाँले जनाउनुभयो ।

सन् २०२३ को अप्रिलमा नेपाल भित्रिने सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । अप्रिलमा भारतबाट ३१ हजार ४३७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी अप्रिलमा सर्वाधिक पर्यटक भित्रिनेमा अमेरिकाबाट आठ हजार ४१३, बेलायतका पाँच हजार ४०९, अस्ट्रेलियाबाट तीन हजार ८२८, जर्मनीबाट तीन हजार २४६, फ्रान्सबाट तीन हजार २११, रसियाबाट दुई हजार ६६३, बङ्गलादेशका दुई हजार २१७ र थाइल्यान्डका दुई हजार १०२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

व्यवसायी पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन् । होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ । पर्यटन व्यवसायीका अनुसार आरोहण, ट्रेकिङलगायतका हिमाली पर्यटनका क्षेत्रमा राम्रो बुकिङ आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij