२०८३ भाद्र २५ बिहिबार

दोलखाको विगुमा जनसचेतन साकोसको स्वास्थ्य शिविर सम्पन्न, सात सय बढीले लिए स्वास्थ्य सेवा

ई आर्थिक    बुधबार, फाल्गुन १० २०७९
8.2K
Shares
दोलखाको विगुमा जनसचेतन साकोसको स्वास्थ्य शिविर सम्पन्न, सात सय बढीले लिए स्वास्थ्य सेवा

ई–आर्थिक, चरीकोट । दोलखाको बिगु गाउँपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा सात सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दोलखाको उत्तरी बिगु गाउँपालिकामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाको वडा ५, ६, ७ र ८ का ७ सय ३३ जनाले सेवा लिएका हुन् ।

बिगु गाउँपालिकासँगको सहकार्यमा सम्पन्न शिविरमा पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्य जाँचसम्बन्धी सेवा दिएको सहकारीले जनाएको छ । शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको थियो ।

दुई दिनसम्म चलेको शिविरको पहिलो दिन सोमबार विगु ५ खार्तलस्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी झण्डै चारसय र दोस्रो दिन बिगु ६ स्थित आलम्पु स्वास्थ्य चौकी ७ स्थित स्वास्थ्य चौकीमा करिब ३ सय ५० जनाले निःशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधिको सुविधा लिएको जनसचेतन सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।

शिविरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डा. राजीव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डा। विजयकुमार शाह, प्रसूति गृह थापाथलीका स्त्रीरोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ डा. पिङ्की शाह, बिगु अस्पतालका डा. प्रतीककुमार ठाकुरलगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिनुभएको थियो ।

शिविरका क्रममा स्त्रीरोगसँग सम्बन्धित केही गम्भीर प्रकृतिका बिरामी फेला परेकाले उनीहरूलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने बिगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष देवीका थामीको उपस्थितिमा सोमबार खोपाचागुमा औपचारिक रूपमा सुरु भएको शिविर मङ्गलबार आलम्पुमा समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै जनसचेतन साकोसका अध्यक्ष हेमन्तकुमार चौलागाईंले सहकारीले वित्तीय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको बताउनुभयो ।

दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन साकोसले बिगु गाउँपालिकामा मात्रै ३ वटासहित जिल्लाभर १६ र सङ्घीय राजधानी काठमाडौंमा एक गरी १७ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । झण्डै ४० हजार सदस्य आबद्ध उक्त संस्थाको गत माघ महिनासम्मको कारोबार २ अर्ब ३४ करोड रुपियाँभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij