२०८३ साउन १० आइतबार

राष्ट्रिय गौरवको जीर्ण उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा, लक्ष्य प्राप्त गर्दै महाप्रबन्धक न्यौपाने

ई आर्थिक    आइतबार, पौस ४ २०७८
4.3K
Shares
राष्ट्रिय गौरवको जीर्ण उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा, लक्ष्य प्राप्त गर्दै महाप्रबन्धक न्यौपाने

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित उदयपुर सिमेण्ट उद्योगमा महाप्रबन्धक गोपीकृष्ण न्यौपाने नियुक्ति भएको ११ महिना मात्रै हुदैछ । यति छोटो अवधिमै बन्दप्रायः उद्योग संचालन गरेर आर्थिक उपार्जन गर्दै सुसासन कायम गर्न निकै महत्वपूर्ण प्रयासहरु भएका छन ।

२०४४ सालमा स्थापित उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा अद्यावधिक सम्म पनि थिएन, न्यौपाने आएपछि १४ बर्षको साधारण सभा सम्पन्न गरेर स्थापनाकालदेखि गत आ. व. २०७६र७७ सम्मको सम्पूर्ण विवरणहरु अद्यावधिक गरिएका छ्न । एउटा सामान्य भोल्टेज स्टेवलाइजरको केसमा सम्मानित अदालतको आदेशबाट लिलाम भएको २ कठा १७ धुर जग्गा समेत ३३ बिगाह जग्गा फुकुवा गरि उद्योगको सम्पूर्ण जग्गा हालसाविक गराउन न्यौपाने सफल भएका छन ।

लोडसेडिङको बखत उद्योगको लाइन गाउँ घरमा पनि दिइरहदा करोडौं रुपियाँ डिमाण्ड शुल्क उद्योगले तिरिरहनु पर्ने अवस्थाको अन्त्य भएको छ । लोडसेडिङ अन्त्य भैसक्दा पनि बिगतमा सो लाइन फेर्न तत्कालीन महाप्रबन्धकहरु असफल भएका थिए । यसबाट मासिक ५ लाख सम्म बचत भैरहेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल बताउछन । उनका अनुसार अहिले विश्वमै कोइला आपूर्ति असहज अवस्थामा छ, भाउले आकास छोएको छ, यस्तो विषम अवस्थामा पनि रु. १८/१९ हजार मेट्रीक टन दरको कोइला नियमित आपूर्ति गराउन सक्नु निकै महत्त्वपूर्ण उपलब्धि हो, एकदिन पनि कोइला अभावको कारण उद्योग बन्द गर्नुपरेको छैन ।

पहिला आउने कोइलाको गुणस्तरको कुरा गर्दा एक टन कोइलाले ३।७५ टन क्लिंकर पकाउथ्यो भने अहिले एक टन कोइलाले ५ टन सम्म पकाउंछ, यो अर्को लागत खर्च कम गर्ने गरि भएको कुसल व्यवस्थापन हो, सबै कामदार कर्मचारीले महाप्रबन्धकको यो कार्यको खुलेर प्रशंसा गरेका छन । अझ काम नलाग्ने भनी रिजेक्ट गरिएर थुपारिएको अबस्थाको कोइला समेत पुनः प्रयोग गरिएको छ । लगभग एक हजार मे. टन यस्तो कोइला राम्रो कोइलासंग मिश्रण गरि गुणस्तरलाई ध्यानमा राखी प्रयोग गर्ने गरेको गुणस्तर बिभागमा काम गर्ने एक कर्मचारीले बताए ।

२९ बर्षदेखि यत्रतत्र छरिएर रहेका पत्रुहरुको व्यवस्थापन गरी ५ करोड ४९ लाख आय आर्जन गर्न पनि महाप्रबन्धक न्यौपाने सफल भएका छन । अत्यन्त पारदर्शी ढंगले बोलपत्रको माध्यमबाट लिलाम गरिएको छ । त्यसैगरी महाप्रबन्धक २०७७ माघ १ गते हाजिर हुनु अघि अबकाश प्राप्त कर्मचारी सबैको उपदान तथा औषधि उपचार खर्च र माघ पछि अवकाश हुने कर्मचारीको औषधि उपचार खर्च समेत करीव १० करोड रकम उपदान कोषमा जम्मा गरि भुक्तानी गर्ने कार्य पनि भएको छ । अब २०७७ माघ पछि अवकाश हुने कर्मचारीहरुको उपदान पनि क्यूमा राखी यही महिनाको अन्त्यदेखि दिनेगरी रकमको ब्यवस्थापन गर्न थालिएको छ ।

हरेक महाप्रबन्धकको पालामा बर्षमा एक करोड जम्मा गरिदिएको भए अहिले अवकास भएर जाने कर्मचारीलाई पाउने सुबिधा लिएर जान सहज हुन्थ्यो, अहिले त बर्षको एक करोड होइन महिनाको एक करोड जम्मा भैरहेको छ, यो कर्मचारीको हितमा छ, लामो समयदेखि क्लिंकर बिभागमा काम गर्ने एक कर्मचारीले खुसी व्यक्त गरेका छन ।

इन्स्योरेन्सबाट कमिशन प्राप्त २ लाख २५ हजार कर्मचारी कल्याण कोषमा जम्मा गरिएको छ । ५ बर्ष अगाडि क्लिन सेल ५.१ मिटर फेरेकोमा त्यसको पर्फर्मेन्स राम्रो देखिएकोले यस आ. ब. मा २० मिटर क्लिन सेल फेर्न टेण्डर गरि भारतको सिम्प्लेक्स कम्पनीमा मेनेफ्याक्चरिङ्ग भैरहेको छ, आगामी फागुन चैत भित्र उक्त सेल फेरेपछि अहिले भैरहेको ईटा झरिरहने रोग र हाइ टेम्प्रेचर कण्ट्रोल भइ ब्रेकडाउन कम हुनेछ । यसका लागि पहिले ५.१ मिटरमा भएको खर्च भन्दा लगभग २ करोड २० लाख कममा पुरै २० मिटर फेर्न लागिएको छ ।

महाप्रबन्धक न्यौपाने उद्योगमा प्रवेश गर्नासाथ क्लिन सेलको जोइनिङ्गमा देखिएको ग्याप मेण्टेनेन्स गरि उत्पादनलाई नियमित गरिएको छ । साउन, भदौ, असौज तीन महिना वर्षायाम भएकोले यस अघि उत्पादन हुने गरेको थिएन, उत्पादन भएपनि एकदमै कम मात्रामा हुने गरेको थियो । तर संचालक समितिले स्वीकृत गरेको यस आ. ब. २०७८/७९ को पहिलो ५ महिनामा ४४५०० मे. टन क्लिंकर उत्पादनको लक्ष्य राखिएकोमा ५२ हजार ४ सय ४० मे. टन उत्पादन भै लक्ष्यको तुलनामा करीव ११८ प्रतिशत उपलब्धि हासिल भएको छ । त्यसैगरी सिमेण्ट बिक्री तर्फ यो ५ महिनामा ६ लाख ५ हजार ८ सय ७९ बोरा सिमेन्ट बिक्रि गर्ने लक्ष्य राखिएकोमा ६ लाख २६ हजार ३ सय ६० बोरा बिक्री भइ लक्ष्यको तुलनामा १०३ प्रतिशत भन्दा बढी नै उपलब्धि हासिल भएको छ ।

लक्ष्य पूरा भएपनि उत्पादन नियमित भएकोले आगामी हिउँदे सिजनमा र क्लिन सेल फेर्ने बेलामा समेत उद्योगको उत्पादन गैंडाछाप सिमेण्ट नियमित रुपमा बजारमा पठाउने योजना रहेको बिक्री बिभाग प्रमुख राम जिसीले बताएका छन ।

बिगत लामो समय पछि यो मंसिर महिनामा क्लिंकर १५ हजार १० मेट्रीक टन उत्पादन भएको छ । आगामी दिनमा उत्पादनलाई नियमितता दिने लक्ष्य राखेका महाप्रबन्धक न्यौपाने लागिपरेकोले बिक्री बिभाग प्रमुख राम जिसीले भने, ‘गुणस्तरीय उत्पादन भएकोले गैंडाछाप सिमेण्टको लागि मार्केटको कुनै कमी छैन ।’

अब हिउँदमा माग ह्वात्तै बढ्ने भएकोले यो अफ सिजनमा उत्पादन गरेको क्लिंकर पिसेर सिमेण्ट उत्पादन गरेर बजारमा पठाउने योजना रहेको बिक्री बिभाग प्रमुख राम जि।सी। ले बताए । महाप्रबन्धक न्यौपानेले छोटो अवधिमा मर्मतसम्भारलाई ध्यान दिई यस अघिको कोटेसन प्रथालाई निरुत्साहित गर्दै खरिद प्रक्रिया बोलपत्रको माध्यमबाट मात्र गर्ने, बोलपत्रको समयलाई दृष्टिगत गरि सप्लाई नियमितताको लागि योजना बनाई अघि बढिरहेको जनाइएको छ । उद्योगमा कम खर्चमा भएकै मिल मेसिनरीको अधिकतम प्रयोग गर्नेगरी आरएसपी प्रविधिको जडान गरि हालको दैनिक ८ सय मेट्रीक टन उत्पादनलाई पूर्ण रुपमा प्राप्त गर्दै क्षमता बिस्तार गरि दैनिक ११ सय मे. टन पुर्याउन आवश्यक पर्ने पुंजीको लागि उद्योग मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गरिसकिएको छ र अर्थ मन्त्रालय यसमा सकारात्मक रहेकोले छिट्टै नयाँ प्रविधिको जडान भइ क्षमता बिस्तार हुंदा १५ प्रतिशत सम्म लागत घट्न सक्ने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयबाट ऋण सहयोग मागिएकोले बढीमा तीन वर्ष भित्र फिर्ता गरिसक्ने योजना सहित फाइल अघि बढेको प्रशासन महाशाखा प्रमुख कमल राज पौडेलले बताए । यसरी १ बर्ष पनि नपुग्दै महाप्रबन्धक न्यौपानेको नेतृत्वमा भैरहेको प्रगतिले अब बन्द हुन्छ भनेको उद्योगले पुनर्जीवन पाएको र जाने बेलामा हामीले पाउने सुबिधा लिएर जान पाउने आशा बढेकोले सबै कामदार कर्मचारी खुसी रहेको ट्रेड युनियनका एक पदाधिकारीले बताए ।

एनएफआरएस अन्तर्गत वित्तीय विवरण तयार गर्न तीन/चार बर्ष अघिदेखि अर्थ मन्त्रालयले निर्देशन दिएपनि उद्योग व्यवस्थापनले खासै महत्त्व दिएको थिएन तर आफू लेखापरीक्षक व्यवसायी पनि रहेका महाप्रबन्धक न्यौपानेले एनएफआरएस अन्तर्गत वित्तीय विवरण तयार गरि कर्मचारीको एक्चुरी मार्फत दायित्व र भेल्युएटर मार्फत सम्पत्तिको यथार्थ मुल्यांकन गराई पुरानो नोक्सानी शुन्यमा झारी यस बर्षदेखि नै उद्योगलाई मूनाफामा लैजाने योजनामा रहेको जनाइएको छ ।

एकातिर उत्पादन र बिक्रि बढाइएको छ भने खर्चमा मितव्ययिता अप्नाइएको छ । सकभर स्टोर्समा रहेका सामानहरुबाटै काम चलाएर नयाँ खरिदलाई निरुत्साहित गरिएको छ, मर्मतसम्भार बिभागका एक कर्मचारीले बताए । यसमा उद्योगको संचालक समितिले समयमा नीतिगत निर्णयहरु गरिदिएको, क्रियासिल युनियनका पदाधिकारी र सदस्यहरुको समेत सकारात्मक सहयोग रहेको छ भने त्यो भन्दा बढी आम कर्मचारीहरुको ठूलो सहयोगले यो उद्योगले पुनर्जीवन पाउंदै गरेको प्रवक्ता लक्ष्मण पोखरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij